मारुती सुजुकीको माइक्रो एसयूभी तिहारसम्ममा आउने

मारुती सुजुकीले यस वर्षको फेस्टिभ सिजन (तिहार) सम्ममा माइक्रो एसयुभी सार्बजनिक गर्ने भएको छ । मारुतीले निर्माण गरिरहेको माइक्रो एसयुभी भारतमा लागु हुने नयाँ इमिशन मापदन्ड बिएस ६ अनुरुपकै इन्जिनमा सार्वजनिक गर्ने जानकारी दिएको हो ।

पछिल्लो समय एकपछि अर्को नयाँ मोडलको निर्माणमा जुटेको कम्पनीले केही समय अगाडि वागेन आर सार्बजनिक गरेको थियो भने, गत वर्ष अर्टिगाको नयाँ संस्करण बजारमा ल्याएको थियो । नयाँ मोडल निर्माणमा आक्रमक ढंगबाट लागि परेको मारुतीले फेस्टिभ सिजनसम्ममा सार्बजनिक हुने मोडलको तालिका नै निर्माण गरेको छ ।

अल्टोको डिजाइनमा तयार भएका यी मोडलको परिक्षण भारतमै गरिने कम्पनीले जनाएको छ । यद्यपी, यी मोडलको साइज अल्टोको भन्दा केही ठुलो हुने कम्पनीले जनाएको छ ।

माइक्रो एसयुभीमा बलेनोमा उपलब्ध १.२ लिटर डबलजेट पेट्रोल इन्जिन लगाइने छ । अहिलेको प्रिमियम ह्याचब्याक बलेनोमा भने, बिएस ६ मापदन्डमा आधारित एसएचभिएस माइल्ड हाइब्रिड प्रणाली दिइने छ । कम्पनीले डिजेल इन्जिनयुक्त माइक्रो एसयुभीको निर्माण नगर्ने निर्णय गरेको छ । सार्बजनिक हुने सबै मोडलमा पेट्रोल इन्जिन दिइने कम्पनीले जनाएको छ ।

हाल, कम्पनीले बिक्री गरिरहेको १.५ लिटर डिजेल इन्जिनयुक्त मारुती सियाज, इर्टिगा, एसक्रश, भिटारा ब्रेजा जस्ता प्रिमियम मोडललाई समेत नयाँ इमिशन मापदन्डको प्रभाव पर्ने देखिएको छ । भने, स्वीफ्ट, इग्निस, डिजायर र बलेनो जस्तो डिजेल इन्जिन युक्त मोडलको बिक्रीवितरण नै बन्द हुने संभावना उच्च भएको रहेको छ । त्यहीकारण पनि, कम्पनीले एमटी र एएमटी अप्शनमा पेट्रोल इन्जिनयुक्त माइक्रो एसयुभी निर्माण गर्ने योजना बनाएको हो ।

कम्पनीले नयाँ माइक्रो एसयूभी जेन ब्रान्डमा निर्माण गर्ने जानकारी दिएको छ । जेन ब्रान्ड क्युट लुकको लागि चर्चित छ । अहिले कम्पनी इन्ट्री लेवल ह्याचब्याकदेखि एसयूभी, अल्टो, एस क्रशको निर्माणमा केन्द्रित भएको छ ।


Back_to_top