काठमाडौं । सरकारले नागढुंगा देखि धुलिखेलसम्म मेट्रो रेल निर्माणको लागि प्रक्रिया अगाडी बढाएको छ ।
लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रो रेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो ।
झन्डै २ खर्ब लागत अनुमान गरिएको उक्त परियोजनाको सम्भाव्यता अध्ययन अघि बढाएर निर्माण गर्ने उद्देश्यसहित बिहिबार बोर्डले परामर्शदाताका लागि प्रस्ताव आह्वान गरेको हो ।
लगानी बोर्डले १५ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य राखेको छ । बोर्डका प्रवक्ता उत्तम वाग्लेले मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटका लागि खुल्ला रूपमा आह्वान गरेको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य संयोजक रहेको समितिले मेट्रो रेलबारे प्रतिवेदन तयार गरेकोमा कात्तिक अन्तिम साता बसेको बोर्ड बैठकले अघि बढाउने निर्णय गरेको थियो ।
३७ किमि लामो नागढुंगादेखि धुलिखेलसम्मको मेट्रो रेल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा चार वर्षभित्र पूरा गर्ने गरी सम्भाव्यता अध्ययन सकेपछि अघि बढाउने लक्ष्य राखिएको छ ।
२०७३ पुसमा बसेको लगानी बोर्डको २५ औं बैठकले योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले विद्यमान सार्वजनिक निजी साझेदारी (पीपीपी) नीतिसमेतलाई आधार मानेर अघि बढाउन सुझाव दिएको थियो ।
जापान सहयोग नियोग (जाइका)ले सन् २०१६ मा तयार पारेको गुरुयोजना, रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले गरेको अध्ययन, लगानी बोर्डले नै बेलायती सहयोग नियोग (डिफिड) लगायतका निकायले तयार पारेको प्रतिवेदनमा आधारित भएर समितिले अन्तिम प्रतिवेदन तयार पारेको हो ।
प्रस्तावअनुसार नौबिसे, नागढुंगादेखि कलंकी–माइतीघर–कोटेश्वर हुँदै धुलिखेलसम्म पुग्नेछ । निर्माण सम्पन्न भएपछि दैनिक २ लाख यात्रुलाई सेवा दिन सकिने मेट्रो रेलको लागत प्रतिकिलोमिटर ५ देखि ६ अर्ब अनुमान गरिएको छ ।
मेट्रो रेल बनाउन सकेमा यात्रुहरूलाई सहज हुनुका साथै वातावरणमैत्री मेट्रो रेलले यातायात व्यवस्थापनलाई सुरक्षित र भरपर्दो बनाउने अपेक्षा गरेको छ ।

