महँगो भयो एमजी कोमेट, यस्तो छ नयाँ मूल्य

काठमाडौं । एमजीको चार सिट क्षमताको मिनी कारको मूल्य निरन्तर वृद्धि भइरहेको छ । चीनबाट आउने गाडीको मूल्य निरन्तर घट्दा भारतबाट आउने ईभीको मूल्य भने निरन्तर बढ्दै गएको हो ।

नेपालमा नाडा अटो शो २०२३ बाट बिक्री सुरू भएको कोमेट ईभी दुई भेरियन्टमा उपलब्ध छ । बिक्री सुरू हुँदा इन्ट्री भेरियन्टको मूल्य १७ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ थियो । झण्डै २१ महिनाको अवधिमा कोमेटको मूल्य २ लाख रुपैयाँले बढेको हो ।

अहिले कोमेटको एजुकेटिभ (इन्ट्री) भेरियन्टको मूल्य १९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । जबकि टप भेरियन्ट एक्साइटको मूल्य बढेर २२ लाख ७४ हजार रुपैयाँ पुगेको हो ।

पृथक डिजाइन र सहरी क्षेत्रमा यात्रा गर्ने लागि निकै उपयोगी मानिने कोमेट साइजको हिसाबले पनि निकै स्मार्ट छ । यसको लम्बाइ २९७४ एमएम, चौडाइ १५०५ एमएम र उचाइ १६४० एमएम छ ।

एमजीले कोमेटमा २०१० एमएम लामो ह्वीलबेस दिएको छ । यसको टर्निङ रेडियस मात्र ४.२ मिटर छ । यसमा दिइएको १६५ एमएमको ग्राउण्ड क्लियरेन्स सर्ट ह्वीलबेस भएको कारण सबै किसिमका बाटाहरूको लागि उपयुक्त हुन्छ ।
कोमेट ईभीमा ३१.२६ किलोवाट क्षमताको मोटर छ । यसले ४२ हर्सपावर र ११० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । उक्त मोटरलाई पावर भने १७.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीले दिनेछ ।

हाम्रै टेस्ट ड्राइभले पनि सिंगल चार्जमा १९० किलोमिटरसम्म रेन्ज दिने देखिएको थियो । यसमा रहेको ब्याट्रीलाई ३.३ किलोवाटको चार्जरले रिचार्ज गर्दा शून्यबाट ७ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।

सुरक्षाको लागि कम्पनीले अगाडि दुई एयरब्याग, एबीएस ईबीडी, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, सिटबेल्ट रिमाइन्डर, आइएसओ फिक्स चाइल्ड सिट एंकर, स्पीड सेन्सिङ अटो डोर लक र इम्प्याक सेन्सिङ डोर अनलक जस्ता फिचर दिएको छ । कम्पनीले पहिलो पटक टप भेरियन्ट कोमेटमा रियर भ्यू क्यामेरा पनि दिएको छ ।

एमजीले कोमेटको टप भेरियन्टका १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्चको फुल्ली डिजिटल इन्फर्मेशन डिस्प्ले दिएको छ । इन्ट्री भेरियन्टमा इन्फोटेन्टमेन्ट सिस्टम छैन । साथै, रिमोट सेन्टर लकिङ, किलेस इन्ट्री, फ्रन्ट पावर विण्डो, म्यानुअल एसी तथा हिटर, पावर स्टेरिङ, २ वटा स्पीकर, स्टेरिङ माउण्टेड अडियो कन्ट्रोल पनि दिएको छ ।


Back_to_top