औषत ८० केजी तौल भएका ४ जना बसेर कोमेट ईभीमा नगरकोट जाँदा…

काठमाडौं । एमजी कोमेट ईभी बाटोमा गुडिरहेको देख्नासाथ जो कोहीले एक पटक टक्क अडिएर हेरेको देखिन्छ । टल ह्याच डिजाइन, सोचेभन्दा फराकिलो क्याबिन र उत्कृष्ट पर्फमेन्सको मिश्रणका कारण कोमेटले हेर्ने र चलाउने दुवैलाई आकर्षित गर्न सक्षम भएको हो ।

मोसिर ग्यारेज (एमजी) इन्डियाले उत्पादन गरेको सिटी कार कोमेट सानो साइजको ब्याट्री, सानै साइजको मोटर र ४ जना बसेर सहज यात्रा गर्न सकिने क्याबिनको कारण एक पटक चलाएर हेर्ने धेरैको मन जित्न सफल भएको देखिन्छ ।

हामीले पनि कोमेटको लामै टेष्ट ड्राइभ गरेका थियौं । काठमाडौं उपत्यका र त्यसको आसपासको डाँडामा चलाउँदा ७० प्रतिशत चार्जले १२० किलोमिटर रेन्ज प्रदान गरेको थियो । त्यसमा पनि करिब ६/७ किलोमिटर ठाडो उकालो चलाएका थियौं ।

विद्युतीय कारमा बस्ने तौलले पनि धेरै कुरा निर्धारण गर्छ । हामीले कोमेटको मोटर पावर र रेन्ज टेष्ट गर्न औषत ८० केजी तौल भएका ४ जना बसेर यात्रा गरेका थियौं । हामीले काठमाडौं थलीबाट नगरकोटसम्मको १७ किलोमिटर र फर्कँदा १७ किलोमिटर यात्रा ४ जना बसेर गरेका थियौं ।

यात्राको क्रममा ३ जनाले यसलाई चलाएर हेरेका थियौं । सबैको एउटै प्रतिक्रिया थियो, ‘काठमाडौं बाहिर लिएर नजाने हो भने उपत्यकाको लागि यो पर्फेक्ट फ्यामली ह्याचब्याक हुन सक्छ ।’

मूल्य

पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको कोमेट ईभी दुई भेरियन्टमा उपलब्ध छ । यसको पेस र प्ले भेरियन्ट उपलब्ध छ । यी दुई भेरियन्टमा केही फिचर फरक छन् । अगाडिको हेडलाइट र ड्यासबोर्डको एउटा स्क्रीन बाहेक देखिने किसिमको फरक छैन ।

कम्पनीले पेस भेरियन्टको मूल्य १७ लाख ९९ हजार र प्ले भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

समान ब्याट्री र मोटर

मूल्यमा ४ लाख फरक भए पनि दुवै भेरियन्टमा समान साइजको मोटर र ब्याट्री प्याक पाउन सकिन्छ । कम्पनीले ३१.२६ किलोवाट क्षमताको पीक पावर भएको मोटर दिएको छ । साथै, दुवै भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

सानो ब्याट्री भएको कारण यसलाई फुलचार्ज गर्न अहिलेको बजार भाउ अनुसार केबल १७३ रुपैयाँ लाग्छ । औषत फुलचार्जबाट १७० किलोमिटर मात्रै गुड्छ भन्ने मान्ने हो भने पनि यसको प्रतिकिलोमिटर इन्धन खर्च एक रुपैयाँ मात्रै पर्न आउँछ ।


Back_to_top