५० स्थानमा एमजीको फास्ट चार्जर, आफ्नै मात्र चार्ज गर्न दिने

फाइल तस्विर

काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले देशभर ५० स्थानमा फास्ट चार्जर लगाउने भएको छ । कम्पनीले आगामी ५ महिना भित्रै ५० स्थानमा चार्जर जडान गरिसक्ने जनाएको छ ।

‘अहिले हामीसँग १२ स्थानमा फास्ट चार्जर छ । केही दिनमा नै थप ५ स्थानमा चार्जर संचालनमा आउँदैछ । बाँकी ३३ स्थानमा ५ महिना भित्रै चार्जर जडान गर्ने तयारीमा छौं’, पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले मेरोअटोसँग भने ।

पारामाउन्ट मोटर्स अन्तर्गत एमजी, माज्दा र मेक्सस ब्राण्डका गाडी नेपालमा उपलब्ध छन् । कम्पनीले मेक्ससको इलेक्ट्रीक गाडी पनि उपलब्ध गराउन लागेको कारण नयाँ बन्ने चार्जिङ नेटवर्कमा मेक्ससका गाडी पनि चार्ज गर्न सकिने छ ।

पारामाउन्ट मोटर्सले अहिले संचालनमा ल्याएको सबै चार्जिङ नेटवर्कमा सबै ब्राण्डका गाडी चार्ज गर्ने सुविधा उपलब्ध छ । तर, कम्पनीले अब भने एमजीका गाडी मात्रै चार्ज गर्न सकिनेगरी एप बनाइरहेको कम्पनी स्रोतको भनाई छ ।

‘लगानी ठूलो छ । आफुले लगानी गरेर अरुलाई निःशुल्क सेवा उपलब्ध गराउने भन्ने हुँदैन । प्रतिस्पर्धी बजारमा सबैले लगानी गर्नुपर्छ भन्ने मान्यता अनुसार चार्जिङ सेन्टर डेडिकेटेड बनाउन लागिएको हो’, कम्पनीले भन्यो ।

कम्पनीले पूर्वदेखि पश्चिमसम्मको सहरी क्षेत्रमा फास्ट चार्जर जडान गर्न लागेको हो । अहिले चार्जिङ सेन्टर निर्माण र चार्जर राख्ने स्थान छनोट दुबै काम सँगसँगै बढी रहेको कम्पनी स्रोतले बतायो ।

‘हामी राष्ट्रिय राजमार्ग र सहरी क्षेत्रलाई ध्यानमा राखेर चार्जर जडान गर्दैछौं । पूर्वपश्चिम हाइवेको हरेक १५० देखि २०० किलोमिटरमा एउटा चार्जर रहने छ । साथै, मदन भण्डारी राजमार्ग र मध्य पहाडी राजमार्गमा पनि आवश्यकता अनुसार चार्जर जडान गर्ने तयारी गर्दैछौं’, जनरल मेनेजर अर्यालले भने ।

एमजीले बनाउने सबै नेटवर्कमा ३० किलोवाट क्षमताका चार्जर रहने छन् । नयाँ चार्जिङ नेटवर्कको विस्तारपछि एमजीका चालकले नेपालका सबै स्थानमा चार्जिङ सुविधा पाउने छन् ।

कम्पनीले लगाउने नयाँ चार्जरहरु सुनसरी, मोरङ, झापा, चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, सुर्खेत र उदयपुर जस्ता जिल्लामा नयाँ चार्जर जडान हुनेछन् ।

थप्दै दुई नयाँ मोडल

एमजीले आगामी नाडा अटो शोबाट दुई नयाँ मोडलको बिक्री सुरु गर्दैछ । कम्पनीले सानो मिनी ईभी कोमेट र क्रसओभर मोडल एमजी–४ बिक्री सुरु गर्दैछ ।

नयाँ दुई मोडलको बिक्री सुरु भएसँगै एमजीसँग ३ मोडलका विभिन्न भेरियन्ट उपलब्ध हुनेछन् । यी सबै मोडलको बजारिकरणसँगै एमजीले इलेक्ट्रीक कार सेग्मेन्टमा आफुलाई बलियो बनाउने लक्ष्य लिएको छ ।


Back_to_top