काठमाडौं । न्यू इनर्जी भेहिकलको रूपमा ब्याट्री इलेक्ट्रीक भेहिकलमा राम्रो चर्चा पाइरहेको मोरिस ग्यारेज (एमजी) ले पहिलो पटक हाइड्रोजन फ्युल सेल भेहिकल देखाएको छ । एमजीले भारतको ग्रेटर नोयडामा चलिरहेको अटो एक्स्पोमा पहिलो पटक यूनिक-७ नामको हाइड्राेजन फ्युल सेल एमपीभी देखाएको हो ।
एमजीले फ्युल सेल ड्राइभट्रेन भएको यो एमपीभीको स्पेसिफिकेसनका बारेमा केही पनि आधिकारिक रूपमा नबताएता पनि यसको पिक पावर आउटपुट २०१ हर्सपावरको हुने अनुमान गरिएको छ ।

एमजीको यूनिक-७ मा ६.४ केजीको हाइड्रोजन सिलिण्डर रहेको छ जसको एक फुल ट्याङ्कीबाट ६०५ किलोमिटरको रेन्ज दिनेछ । हाइड्रोजनलाई फ्युलको रूपमा प्रयोग गर्ने यो एमपीभीको एक्जस्टबाट कुनै प्रकारको पोलुटेड ग्यास निस्कने छैन बरू यसबाट शुद्ध पानी मात्र निस्कने छ ।
एक्टेरियर डिजाइनको मामलामा एकदमै आकर्षक देखिएको एमजीको एमपीभीमा अगाडिको भागमा टल एण्ड लार्ज नोज रहेको छ । यसको ग्रिलमा क्रोमको प्रगोग भएको छ भने हेडलाइट स्लिम साइजको तथा एयरड्याम ट्रयाङगुलर लोअर डाउन रहेको छ । यसमा दुवै साइडको रियर डोर स्लाइडिङ रहेको छ भने डिउलटोन अलोय ह्विलले यसलाई प्रिमियम देखाएको छ ।

यूनिक-७ को टेल लाइट एलईडी रहेको छ भने दुवै साइडको टेललाइटलाई क्रोम स्ट्रीपले जोडेको छ । प्रदर्शनमा राखिएको एमपीभी ब्लू र ह्वाइटको ड्युल टोन कलरमा रहेको छ ।
यो एमपीभीमा २–२–३ गरी ७ सिटको कन्फिगरेसन रहेको छ । बीचको सिट क्याप्टेन सिट रहेकोले पछाडिको रोमा जान सजिलो रहेको छ । यसको ड्यासबोर्ड एकदमै प्रिमियम रहेको छ । ड्यासबोर्डको बीचमा फ्रिस्ट्याण्डिङ टचस्क्रीन रहेको छ । यसमा ठूलो साइजको प्यानारोमिक सनरुफ तथा डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा एडास फिचर अत्याधुनिक फिचरहरू समेत रहेको छ ।
एमजीले फ्युल सेल टेक्नलोजीको पहिलो भेहिकल देखाए पनि यसको मूल्य र लन्चिङ मितिको बारेमा भने केही पनि जानकारी दिएको छैन ।


