देशभर ५० स्थानमा फास्ट चार्जर राख्दै एमजी

फाइल तस्विर

काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले देशभर ५० स्थानमा फास्ट चार्जर लगाउने तयारी गरेको छ । कम्पनीले पूर्वदेखि पश्चिमसम्मको सहरी क्षेत्रमा फास्ट चार्जर जडान गर्न लागेको हो ।

अहिले चार्जर राख्ने स्थान छनोट गर्ने काम चलिरहेको कम्पनीले जनाएको छ । पूर्व र पश्चिम दुबै एरियामा गएर उपयुक्त स्थान छनोट गर्ने काम भइरहेको हो ।

‘हामी राष्ट्रिय राजमार्ग र सहरी क्षेत्रलाई ध्यानमा राखेर चार्जर जडान गर्दैछौं । पूर्वपश्चिम हाइवेको हरेको १५० देखि २०० किलोमिटरमा एउटा चार्जर रहने छ । साथै, मदन भण्डारी राजमार्ग र मध्य पहाडी राजमार्गमा पनि आवश्यकता अनुसार चार्जर जडान गर्ने तयारी भइरहेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

पारामाउन्ट मोटर्सले यसअघि पनि फास्ट चार्जर जडान गर्दै आएको छ । काठमाडौं, चितवन, कास्की, ललितपूर, सिन्धुली, धनुषा जस्ता जिल्लामा फास्ट चार्जर जडान गरिसकेको छ ।

एमजीले अहिले स्थापना गरेको फास्ट चार्जरहरु ३० किलोवाट क्षमताका छन् । नयाँ ल्याउन लागिएका चार्जर पनि सबै ३० किलोवाट क्षमताका हुन् । नयाँ चार्जिङ नेटवर्कको विस्तारपछि एमजीका चालकले नेपालका सबै स्थानमा चार्जिङ सुविधा पाउने छन् ।

एमजी जेडएस ईभीको बिक्री निकै राम्रो संख्यामा भइरहेको र अबको २/३ महिना भित्र थप दुई मोडल नेपाल ल्याउने तयारी भइरहेको कारण ग्राहकलाई चार्जिङ सुविधा दिन नयाँ चार्जरहरु जडान गर्न लागेको हो ।

कम्पनीले लगाउने नयाँ चार्जरहरु सुनसरी, मोरङ, झापा, चितवन, मकवानपुर, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, सुर्खेत र उदयपुर जस्ता जिल्लामा नयाँ चार्जर जडान हुनेछन् ।


Back_to_top