एमजीका फास्ट चार्जर प्रयोग गर्न ‘आरएफआईडी’ कार्ड लिनु पर्ने, सुरु भयो चार्जिङ एप

काठमाडौं । एमजी मोटर्सको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘पारामाउन्ट चार्जिङ सोलुसन एप’ सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको चार्जिङ एपको सहायताले एमजीका उपभोक्ताले सहजै चार्जिङ सुविधा पाउने भएका हुन् ।

एप स्टोर र प्लेस्टोर दुवैमा निःशुल्क उपलब्ध पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् । चार्जिङ्ग शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले उपभोक्तासँग अनिर्वाय ʻखल्ती एप’ हुनु पर्नेछ ।

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका कम्पनीले बनाएका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाइभ अपडेट पाउने छन् । यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एसईभी र एमजी फोर ईभीका ग्राहकहरुलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभर एमजीका ११ वटा चार्जिङ स्टेसन छन् । कम्पनीले चाँडै थप नेटवर्क विस्तार गर्ने जनाएको छ ।

साथै, यस एप अन्तर्गत आरएफआइडी कार्ड मार्फत ग्राहकहरूले देशभरीका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् । ग्राहकहरूले आरएफआइडी कार्ड कम्पनीबाट लिनको लागि भ्याट सहित ५०० रुपैयाँ वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ ।

उक्त शुल्क चार्जिङ मेसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने कम्पनीको भनाइ छ । एमजी आरएफआइडी कार्ड अनुरोध गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन् ।

आरएफआइडी फारम भर्दा ग्राहकहरुले आफ्नो सुविधा अनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन् । नेपालमा हाल एमजीको २१ वटा शोरूम रहेका छन् ।

पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा अतिरिक्त २० प्रतिशत शुल्क तिर्नु पर्नेछ । प्रति युनिट शुल्क पीक र अफ–पीक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ ।


Back_to_top