नेपाली बजारमा सर्वाधिक आयात भएका ५ कार, मूल्यको असर कति ?

काठमाडौं । अटोमोवाइल बजार नै उथलपुथल भइरहेको छ । दुई वर्ष अगाडिसम्म सिमित संख्यामा बिक्री हुने विद्युतीय कारको ब्यापार बढेको छ भने पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री घटेको हो ।

चालु आर्थिक वर्षको ७ महिनामा सबैभन्दा धेरै ईभी आयात भएको देखिन्छ भने बिक्री पनि ईभी कै बढी छ । यस अवधिमा बीवाइडी, टाटा, एमजी जस्ता ब्राण्डले सबैभन्दा धेरै ईभी बिक्री गर्न सफल भएका छन् ।

साउनदेखि माघ मसान्तसम्मको आयातको आधारमा सबैभन्दा धेरै कार बीवाइडीले एटो-३ एसयूभी नेपाल ल्याएको छ । कम्पनीले यस अवधिमा १ हजार ४५४ यूनिट एटो-३ नेपाल ल्याएको हो ।

सिंगल मोडल आयातको आधारमा बीवाइडी एटो-३ टपमा रहँदा टाटा टियागो ईभी दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा १ हजार ३७५ यूनिट टियागो आयात गरेको देखिन्छ ।

तेस्रो स्थानमा बीवाइडीकै डल्फीन ह्याचव्याक परेको छ । भदौदेखि आयात भएको डल्फीन यस अवधिमा ६५० यूनिट नेपाल आइसकेको छ । सूचीको चौथो स्थानमा एमजीको सफल एसयूभी जेडएस ईभी पर्न सफल भएको छ । कम्पनीले यस अवधिमा ५०२ यूनिट जेडएस ईभी नेपाल ल्याएको हो ।

यी ४ मोडल छाडेर अन्य मोडलको आयात ३ सय यूनिटभन्दा पनि कम छ । सूचीको पाँचौ स्थानमा २६५ यूनिट सहित नेटा भी पर्दा २२३ यूनिटसहित नेक्सन ईभी छैटौं स्थानमा पर्न सफल भएको छ ।

मूल्यको हिसावले हेर्दा

अहिले सर्वाधिक आयात भएका ५ विद्युतीय कारको मूल्यलाई केलाएर हेर्ने हो भने ५० लाख माथि मूल्य भएका एसयूभीको बर्चश्व देखिन्छ । बीवाइडी एटो-३ को मूल्य ५५ लाख ९० हजार र ६६ लाख ८० हजार रुपैयाँ छ । यी दुबै मूल्यका एसयूभीको आयात लगभग बराबर जस्तै देखिन्छ ।

एमजी जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । आकर्षक डिजाइन र मूल्यकै कारण जेडएस ईभीको आयात राम्रो संख्यामा हुँदै आएको छ ।

त्यस्तै दोस्रो धेरै आयात भएको कार टाटा टियागो हो । यसको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म छ । त्यसमध्ये पनि २७ लाख ९९ हजार मूल्यको टियागो ईभीको आयात धेरै देखिन्छ ।

बीवाइडी डल्फीनको मूल्य ३९ लाख ८० हजार छ । यसलाई पनि ग्राहकले निकै रुचाएका छन् । त्यस्तै ३८ लाख ९९ हजार मूल्य रहेको नेटा भी मोडल पनि राम्रै संख्यामा आयात भएको छ ।


Back_to_top