नाडा अटो शोमा आकर्षण थप्न सक्ने दुई बजेट कार, कुनमा के फरक ?

काठमाडौं । नाडा अटो शो नजिक आएसँगै गाडी आयातकर्ताले नयाँ मोडलहरु बिक्री सुरु गर्ने घोषणा गर्न थालेका छन् । यस पटकको नाडामा २० लाखदेखि १ करोड ६० लाख रुपैयाँसम्म मूल्यका नयाँ विद्युतीय कार बिक्रीको लागि राख्नेछन् ।

बढ्दो ईभीको आयातसँगै चुलिएको प्रतिस्पर्धाको कारण ग्राहकले मूल्यमा पनि निकै ठूलो राहत पाउने देखिन्छ । अहिले आफ्नो अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशन गरेका कम्पनीहरुले निकै प्रतिस्पर्धी मूल्य अफर गर्ने तयारी गरेको बुझिन्छ ।

आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शोमा बिक्री सुरु हुन लागेको टाटा पन्च ईभी र डोङफेङ नामी-०१ मूल्यको कारण कडा प्रतिस्पर्धा गर्ने दुई ईभी मोडल बन्न सक्ने देखिन्छ । तर, यी दुई मोडल बडी डिजाइनको आधारमा भने एकअर्काका प्रतिस्पर्धी होइनन् ।

टाटा पन्च माइक्रो एसयूभी भनेर परिचित मोडल हो । भारतमा उत्पादन भएको पन्च ईभी टाटाको पहिलो प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको हो । उता चिनियाँ ब्राण्ड डोङफेङले उत्पादन गरेको नामी-०१ पनि नामी ब्राण्डमा बनेको पहिलो कार हो । यसलाई कम्पनीले ह्याचव्याक डिजाइनमा ल्याएको छ ।

बडी डिजाइनका आधारमा नामी-०१ र टाटा पन्च ईभी एक आपसको प्रतिस्पर्धी नभएपनि अन्य मूल्य र केही फिचरको आधारमा प्रतिस्पर्धी हुने देखिन्छ ।

ब्याट्री साइज

टाटा पन्च ईभी मिड रेन्ज भेरियन्टमा २५ र लङ रेन्ज भेरियन्टमा ३५ किलोवाट आवरको ब्याट्री भएको एसयूभी हो ।

नामी-०१ ह्याचव्याकमा ३१ र ४२ किलोवाट आवरको ब्याट्री रहेको छ । ब्याट्रीकै हिसावले नामीमा ठूलो ब्याट्री पाउन सकिन्छ ।

मूल्य

दुई भेरियन्टमा नेपाल आउन लागेको नामी-०१ को मूल्य ३३ लाखदेखि ३६ लाखसम्म रहने भएको छ । यसको अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशित भइसकेको छ ।

टाटाले पन्च ईभी कति भेरियन्टमा ल्याउने र कति मूल्यमा बिक्री गर्ने भन्ने विषयमा कुनै जानकारी दिएको छैन । तर, बढ्दो प्रतिस्पर्धी बजारमा कम्पनीले ३३ लाखदेखि ४० लाखसम्म मूल्य कायम गरेर विभिन्न भेरियन्ट बिक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।

मोटर पावर

टाटा पन्च भारतमा ५५ देखि ९० किलोवाट क्षमताको मोटरमा उपलब्ध छ । अहिले भन्सार छुटेर नेपाल आएको मोडलमा ९० किलोवाट क्षमताको मोटर दिइएको हो । मिड रेन्ज भर्सनमा ५५ किलोवाटको मोटर छ । त्यो नेपाल आउने वा नआउने विषयमा आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले जानकारी दिएको छैन ।

नामी-०१ को दुबै भेरियन्टमा ७० किलोवाट क्षमताको मोटर उपलब्ध रहने आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।

यी दुबै गाडी सुरक्षामा आधुनिक फिचर दिइएका मोडल हो । दुबैको टप भेरियन्टमा ३६० डिग्री क्यामेरा लगायतका फिचर छन् ।


Back_to_top