एकपछि अर्को कम्पनीको मोटरसाइकल उत्पादन बन्द, नेपालमा पनि असर पर्ने

काठमाडौं । मोटरसाइकल उत्पादक कम्पनीले भारतमा बढ्दो कोभिड संक्रमणका बीच धेरै कम्पनीले मोटरसाइकल उत्पादन बन्द गरेका छन् । यसअघि नै हिरोले आफ्नो उत्पादन स्थगन गरेको थियो । हिरो भारतकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनी हो ।

हिरोसँगै होन्डा, बजाज, टीभीएस, रोयल इन्फिल्ड, यामाहा जस्ता कम्पनीले भारतमा उत्पादन बन्द गरेका छन् । उत्पादन प्लान्ट बन्दसँगै विभिन्न कम्पनीले बजारमा ल्याउने तयारी गरेका मोडलको सार्वजनिक गर्ने मिति पनि धकेलिने भएको छ ।

अहिले भारतमा यामाहा, होन्डा, हिरो, टीभीएस, रोयल इन्फिल्ड, बजाज जस्ता कम्पनीले नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस्तोमा नयाँ मोडल बजारमा आउने मिति अन्योलमा परेको हो ।

यी सबै भारतीय कम्पनीका उत्पादन नेपाली बजारमा विक्री वितरण हुँदै आएका छन् । कोभिड संक्रमण तिब्रगतिमा फैलन थालेसँगै रोयल इन्फिल्ड र होन्डाले नेपाल ल्याउन लागेको नयाँ मोडल पनि पर धकेलिएको छ ।

‘अहिले भारतमा भएको उत्पादन बन्दले नेपालमा मोटरसाइकल तथा स्कुटरको आयातमा असर गर्ने देखिन्छ । कुन कम्पनीले कति मोटरसाइकल नेपाल ल्याउन सक्नेछन् भन्ने विषयमा अहिल्यै केही भन्न सकिने अवस्था छैन’, एक मोटरसाइकल आयातकर्ता कम्पनीका संचालकले भने ।

अघिल्लो संक्रमणपछि पनि कति कम्पनीले मोटरसाइकल आयात गर्न सकेका छैनन् । यस्तोमा दोस्रो लहरको कारण भएको प्लान्ट बन्दले खुलेपछि बजारमा मोटरसाइकल अभाव हुने देखिएको छ ।


Back_to_top