निषेधाज्ञामा मोटरसाइकलको सर्भिसिङ वारेन्टी सकिए के गर्ने ?

काठमाडौं । कोभिड १९ को दोस्रो लहर सुरु भएसँग देशका ७२ जिल्लामा स्थानिय प्रशासनले निषेधाज्ञा गरेका छन् । उपत्यकाको निषेधाज्ञा तेस्रो हप्तामा प्रबेश गरिसकेको छ । यस्तोमा नयाँ मोटरसाइकल किन्नेका ग्राहकको मोटरसाइकल तथा स्कुटरको सर्भिसिङ गर्ने समय नाघ्दै जाने अवस्था आएको छ ।

कम्पनीहरुले नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकको पहिलो सर्भिसिङको लागि १ महिना वा ५०० किलोमिटरको अवधि निर्धारण गरेका हुन्छन् । यसरी निषेधाज्ञा लम्बिदै जाँदा ग्राहकहरुमा अन्योलता सिर्जना हुँदै गएको पाइएको छ ।

भारतमा नेपालमा भन्दा केही समय अगाडि लकडाउन सुरु भएको थियो । भारतमा सबै जसो कम्पनीले आफ्ना ग्राहलाई प्रदान गर्ने फ्रि सर्भिसिङ तथा वारेन्टिको समय थप गरिसकेका छन् ।

नेपालमा पनि मोटरसाइकल विक्रेता कम्पनीहरुले गत वर्षको लकडाउनमा सर्भिसिङ तथा वारेन्टिको समय थप गरेका थिए । यस पटक पनि निषेधाज्ञा लम्बिदै जाने अबस्था देखिएको छ । यस पटक पनि कम्पनीहरुले समय थप गर्न थालेका छन् ।

‘हामीले हाम्रा ग्राहकलाई पहिला जस्तै यो निधेषाज्ञाको समय बराबरको वारेन्टी तथा फ्रि सर्भिसिङको समय थप गरेको छौं । ग्राहकलाई ढुक्कसँग निषेधाज्ञाको पालना गरि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गर्न समेत अनुरोध गरेका छौं’, टीभीएसको आधिकारीक वितरक जगदम्वा मोर्टसका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले मेरोअटोसँग भने ।

त्यस्तै अन्य कम्पनी बजाज, होन्डा, यामाहा, हिरो, सुजुकी जस्तै अन्य कम्पनीहरुले समेत निषेधाज्ञामा मोटरासाइकल सर्भिसिङ गर्न भनेर बाहिर नहिड्न आग्रह गरेका छन् । सबै कम्पनीहरुले यो निषेधाज्ञाको समय अवधि हेरेर वारेन्टि तथा फ्रि सर्भिसङको समय थप गर्ने जनाएको छन् ।


Back_to_top