काठमाडौं । सरकारले मोटरसाइकलमा बढाएको अन्तःशुल्कको असर तत्काल बजारमा देखिने भएको छ । १२६ देखि २०० सीसीसम्मको मोटरसाइकलमा १० प्रतिशत र २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले मूल्य बढेसँगै बजारमा मोटरसाइकलको मूल्य बढ्ने भएको हो ।
सरकारले आर्थिक अध्यादेशलाई परिवर्तनगरी सार्वजनिक गरेको आर्थिक विधेयकले मोटरसाइकलको करमा परिवर्तन गरेसँगै मोटरसाइकलको मूल्य बढ्ने हो । यसको सिधा असर १२६ सीसीभन्दा माथिका मोटरसाइकलमा पर्ने भएको छ ।
अन्तःशुल्कमा वृद्धिसँगै १५० सीसीका मोटरसाइकलमा करिब २० हजार र २०० देखि २५० सीसी सेग्मेन्टका मोटरसाइकलमा ४० हजारसम्मले मूल्य बढ्ने देखिएको छ । यो भन्दा माथिल्ला सेग्मेन्टमा अझैँ बढी मूल्य बढ्ने देखिएको छ ।
‘शुक्रबार बजेट आयो, बल्ल आज अफिस खुल्ला भएको छ । हामीले ल्याउने मोटरसाइकलमा कर बढेर छुट्न थालिसक्यो । यहाँ हामी मूल्यको विषयमा छलफल गर्दैछौं’, एमएडब्लूका सीइओ राजु क्षेत्रीले मेरोअटोसँग भने ।
क्षेत्रीका अनुसार अहिल्यै कति मूल्य बढ्छ भन्ने एकिन भएको छैन । त्यस्तै टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले पनि मोटरसाइकलको मूल्यको विषयमा छलफल सुरु गरेको जनाएको छ ।
‘हामीले नेपालमा एसेम्बल सुरु गरेको भएपनि अहिले ‘सियूबी’ आयात धेरै छ । यस्तोमा मूल्य कसरी मिलाउन सकिन्छ, त्यसमा काम गरिरहेका छौं’, जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले भने ।
नेपालमा अहिले बजाज र टीभीएसले एसेम्बल यूनिट लगाएर उत्पादन सुरु गरेका छन् । यही एसेम्बल गर्नेलाई ५० प्रतिशत अन्तःशुल्क छुट दिएकोले बजाजले मूल्य नबढाउने संकेत दिएको छ ।
‘हामी आन्तरिक तयारीमा छौं, केही दिनमा नै आवश्यक सूचना दिन्छौं’, हंशराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले मेरोअटोसँग भने ।
होन्डा, हिरो, सुजुकी जस्ता ब्राण्ड पनि आन्तरिक तयारीमा जुटेका छन् । त्यसैगरी रोयल इन्फिल्ड, जावा, केटीएम, बेनेली, भेष्पा, अप्रिलिया जस्ता धेरै विक्री हुने मध्यका ब्राण्ड हुन् । यी ब्राण्डले पनि आन्तरिक तयारी सुरु गरेको जनाएका छन् ।

