काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा दुई जापानी कम्पनी यामाहा र होन्डाका मोटरसाइकलमा कडा टक्कर चलिरहेको छ । यी दुबै कम्पनी मोटरसाइकल उत्पादनमा विज्ञता हासिल गरेका जापानी कम्पनी हुन् ।
पछिल्लो समय यी दुबै कम्पनीले एक आपसमा प्रतिस्पर्धा गर्नेगरि नयाँ–नयाँ मोडल सार्वजनिक गर्दै आएका छन् ।
त्यसमापनि भारतीय बजार सर्वाधिक दुई पाङ्ग्रे सवारी साधन बिक्री हुने बजार भएसँगै कम्पनीहरुले भारतीय बजारमा प्रभाव पार्न सक्ने किसिमका उत्पादन बजारमा ल्याइरहेका छन् ।
केही महिना अगाडि यामाहाले आफ्नो चर्चित मोटरसाइकल एमटी १५ भारतीय बजारमा सार्वजनिक गरेसँगै होन्डाले समेत सीबीआर सेग्मेन्टकै सबैभन्दा कम सीसीको मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले चार महिनापछि दिल्लीमा हुने अटो एक्स्पो २०२० मा सीबी १५० आर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सीबी–१५० आर अहिले थाइल्यान्डको बजारमा बिक्री वितरण भइरहेको छ ।
भारतीय बजारमा बिक्री सुरु भएसँगै होन्डाको नयाँ सीबी सिरिजको इन्ट्री लेवलको यो बाइक निकट भबिस्यमा नेपाली बजारमा समेत आउने सम्भावना रहेको छ ।
यामाहाको नयाँ मोटरसाइकल एमटी–१५ भने नेपाली बजारमा बिक्री वितरण सुरु भइसकेको छ । नेपाली बजारमा यामाहाको मोटरसाइकल तथा स्कुटर एमएडब्ल्यू इन्टरप्राइजेजले बिक्री गरिरहेको छ भने होन्डाका उत्पादन स्याकार ट्रेडिङले बिक्री वितरण गर्दै आएको छ ।
यामाहाले आफ्नो पछिल्लो नयाँ मोडल एमटी–१५ मा १५५ सीसी लिक्वीडकुल्ड, ४ स्टोक, डिओएचसी ४ भल्व इन्जिन दिएको छ भने, होन्डाले सीबी–१५० आरमा १४९ सीसी सिंगल सिलिन्डर, लिक्वीडकुल्ड र फ्यूल इन्जेक्टेड इन्जिन रहेको छ ।
रिपोर्टकाअनुसार होन्डाको यो नयाँ बाइकले १८ बीएचपी पावर जेनेरेट गर्छ भने यामाहाको नयाँ बाइकले १९ बीएचपी पावर प्रदान गर्छ । यी दुबै बाइकमा ६ स्पीड गियरबक्स दिइएको छ ।
अहिले नेपाली बजारमा एमटी १५ को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ भने होन्डाको सिबी १५० आर आउने हो भने यसको मूल्य करिब ४ लाख ५० हजार रुपैयाँ हाराहारीमा रहने छ ।
होन्डाले आफ्नो सीबी–१५० आरको अगाडिको चक्कामा २९६ एमएमको डिस्क ब्रेक दिएको छ भने, पछाडिको टायरमा २२० एमएमको डिस्क ब्रेक दिएको छ । यो डबल च्यानल एबीएसमा उपलब्ध हुनेछ ।
यामाहा एमटी–१५को अगाडिको ह्वीलमा २८२ एमएम र पछाडिको ह्वीलमा २२० एमएमको डिस्क ब्रेक दिएको छ । कम्पनीले यसमा सिंगल च्यानल एबीएस दिएको छ ।
यामाहाले आफ्नो बाइकमा फ्रन्टमा टेलिस्कोपिक फर्क र पछाडि मोनोशक दिएको छ भने होन्डाले अगाडिको भागमा डायमन्ड फ्रेमको साथमा ४१ एमएमको अपसाइड डाउन फर्क सस्पेन्सन दिएको छ । साथै, पछाडि मोनोसक दिएको छ ।


