काठमाडौं । विद्युतीय कारमा सरकारले कर वृद्धि गरेसँगै चर्चा धेरै र खरिदकर्ता कम भएको विद्युतीय गाडी अब भने नाडा अटो शोलाई लक्षित गर्दै नेपाल आउने भएका छन् ।
नाडा अटो शो २०२२ आगामी भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । यही अवसरमा टाटा, बीवाइडी र इलेक्ट्रा प्लस ब्राण्डले नयाँ गाडी ल्याउँदैछन् ।
नेपालमा हुने अटो शो विशेषत विक्री केन्द्रित हुने गरेको भएपनि यसपटक टाटा र बीवाइडीले यसलाई एउटा वृहत प्रदर्शनीको रुपमा ग्राहकलाई आकर्षित गर्न खोजेको अनुमान लगाउन सकिन्छ । अर्को इलेक्ट्रा ब्राण्ड अटो शोमा सहभागी नै हुने छैन ।
बीवाइडीले डल्फीन र टाटाले कर्भ कन्सेप्ट ल्याएर देखाउने योजना बनाएका छन् । उनिहरुले बनाएको योजनाले विद्युतीय गाडी चाहने ग्राहकलाई पक्कै खुसी बनाउने छ ।
‘बीवाइडीको अहिलेसम्म ग्राहकले इ सिक्स र भ्यान मात्रै देख्नु भएको छ । अब यसले उत्पादन गरेका कार र एसयूभी हेर्ने बेला आएको छ । अटो शोमा हामी डल्फीन ह्याचव्याक शोकेस गर्छौ भने एटो थ्रीको विक्री सुरु गर्छौ’, साइमेक्स इंकका सीइओ सहिल श्रेष्ठले मेरोअटोसँग भने ।
टाटाले पनि केही फरक गर्ने कोशिष गरिरहेको सिप्रदी ट्रेडिङले जनाएको छ । सिप्रदीले सम्भव भएसम्म अल्ट्रोज इभी र कर्भ इभीको कन्सेप्ट ल्याउने तयारी गरिरहेको छ ।
‘अन्तर्राष्ट्रिय मोटर शोसँग जुधेन भने कर्भ इभी ल्याउने योजना बनाएका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
नाडा अटो शोबाटै विक्री गर्नेगरी भने टाटाले नेक्सन म्याक्स र बीवाइडीले एटो थ्री बजारमा ल्याउने छन् । साथै, इलेक्ट्रा प्लसको विक्री पनि चाँडै सुरु हुने जनाइएको छ ।

