काठमाडौं । ५ दशक लामो लिगेसी भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) आन्तरिक द्धन्द्धको भुमरीमा फसेको छ ।
संस्था र व्यवसायिको हितमा काम गर्नुपर्ने नाडा पदाधिकारीहरू जिम्मेवारी भुली आफ्नो व्यक्तिगत स्वार्थ र इगोका कारण संस्थाकै बद्नाम गर्न अग्रसर भएका छन् । व्यक्तिगत स्वार्थकै कारण सृजित विवाद अहिले नाडाको कार्यसमिति हुँदै जिल्ला प्रशासनदेखि अदालतसम्म पुगेको हो ।
नाडाको ४७ औं वार्षिक साधरणले पारित गरेको निर्णयहरू अध्यक्ष करण चौधरीले कार्यान्वयन नगर्दा नाडामा विवादको आगो दन्किएको हो ।
२०८१ पुसमा सम्पन्न नाडाको ४७ औं साधरण सभाले विधान संशोधन गर्दै आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । तर, अध्यक्षको दाबेदारी छोड्दै वरिष्ठ उपाध्यक्षमै चित्त बुझाएका गोल्छालाई नवनिर्वाचित अध्यक्ष करण चौधरीले वरिष्ठ उपाध्यक्ष मान्न समेत तयार नभएपछि द्धन्द्ध चर्किँदै गएको थियो । साधरण सभाले अनुमोदन गरेका गोल्छालाई चौधरीले वरिष्ठ उपाध्यक्षबाट हटाउँदै साधरण सदस्यमै झारिदिएका थिए । साथै, नाडाको वेबसाइटबाट समेत हटाएका थिए ।
त्यसपछि नाडामा स्पष्ट दुई गुट देखिएको थियो । अध्यक्ष चौधरीले संस्थापन र निवर्तमान अध्यक्ष ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष गोल्छासहितको विपक्षी गुट ।
अहिले दुवै गुट बीच एकअर्कालाई बहिष्कार र मौका पाए पेलेर भित्तैमा पुर्याउने श्रृंखला जारी छ । केही महिना अघि गोल्छा खेमाले नाडा कार्यालयमै अध्यक्ष चौधरीलाई कालोमोसो दल्नेसम्मको चेतावनी दिएको थियो भने चौधरीले पनि दल्न चुनौती दिएका थिए । नाडाको विवादकै कारण उस्तै प्रकृतिको संस्था नाइमाको समेत स्थापन भएको छ ।
भदौ ८ को त्यो बैठक
गत भदौ ८ गते नाडा अटो शो सफल रुपमा सम्पन्न भएसँगै भृकुटीमण्डपमै नाडा कार्यसमित बैठक बसेको थियो । तर, त्यो बैठक सौहार्द नभई करिब हात हालाहालको अवस्था पुगेको थियो ।
उक्त बैठकले नाडालाई महासंघ बनाउन विशेष साधरण सभा बोलाउने निर्णय गर्यो । तर, केही कार्यसमिति सदस्यहरूले सो दिनको बैठकमा एजेन्डामै नभएको विषय कसरी आयो भनेर प्रश्न उठाएपछि स्थिति तनावग्रस्त बनेको थियो । संस्थापन पक्षले विपक्षीलाई बोल्न समेत दिएका थिएनन् भने असन्तुष्ट पक्षका केहीले टेबल ठोक्नेदेखि पाखुरा सुर्किनेसम्मका गतिविधि गरेका थिए ।
‘सफल रुपमा नाडा अटो शो सम्पन्न भएकोमा सबैमा सुखी हुनुपर्थ्यो । सेलिबेस्रन गर्नुपर्थ्यो । तर, त्यो बैठकमा स्थिति यस्तो बन्यो कि केही सदस्यहरू हात हालहालकै अवस्थामा उत्रिए । टेबलमा वारीपारी नभई सँगै बसेका भए कुटाकुट नै गर्थे होलान, धन्न आक्रमक बनेकालाई सम्हालियो । नत्र अप्रिय घटना घट्न सक्थ्यो,’ बैठकमा सहभागी एक सदस्यले भने ।
भदौ ८ गतेको बैठकमा ९ जना कार्यसमिति सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । भदौ ११ गते निवर्तमान अध्यक्ष थापा, वरिष्ठ उपाध्यक्ष गोल्छा, सदस्यहरू निराकार श्रेष्ठ, सनिल रिजाल, युमना श्रेष्ठ, संजय खेतान, प्रदीपमान प्रधान, सोहन श्रेष्ठ र सौरभ थापाले संयुक्त विज्ञप्ति जारी गर्दै ८ गतेको बैठकका निर्णयमा आफूहरूको असहमति रहेको जनाएका थिए ।
उनीहरूले संस्थापन पक्षले ४७ औं साधरण सभाले पारित गरेको विधान कार्यान्वयनकै चरणमा रहेको अवस्थामा हचुवामा पुनः विधान संशोधन गर्ने जबरजस्ती निर्णय गरेको, एजेन्डा उल्लेख नगरी बोलाइएको कार्यसमित बैठकले छलफल गरेको, कार्यसमितिको कार्यकाल ४ महिना मात्रै बाँकी रहेको अवस्थामा नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउने उद्देश्यले बोलाइएको विशेस साधरण सभाप्रति आफूहरूको असहमति रहेको बताएका छन् ।
त्यस्तै, भदौ ८ गतेको बैठकमा कार्यसमिति सदस्य तथा पूर्व उपाध्यक्ष सुनिल रिजाललाई आफ्नो भनाइ राख्न समेत नदिएको, नाडालाई प्राइभेट कम्पनी जसरी चलाएको, अध्यक्षले कार्यकालको २० महिनामा विधान संशोधन सम्बन्धी कुनै बैठक नडाकेको तर कार्यकाल सकिन बेलामा आफ्ना स्वार्थका लागि संशोधन गर्न विशेष सभा बोलाउने निर्णय गरेकाले ८ गतेको बैठकमा नोट अफ डिसेन्ट लेखेको उनीहरूले स्पष्ट पारेका छन् ।
भदौ ८ गतेको बैठकको निर्णयको आधारमा नाडाले भदौ २४ गते विशेष सभा समेत डाकेको थियो । यद्यपि, गैरकानुनी रुपमा विशेष साधरण सभा डाकिएको भन्दै नाडा कार्यसमिति सदस्यले नै निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भदौ १६ गते सभा रोक्न आदेश दिएको छ ।

