काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीको पछिल्लो प्रिमियम क्रसओभर एसयूभी सिलायन-सेभेन टेस्ट ड्राइभ गरेपछि यसका सबल र कमजोर पक्षका विषयमा केही लेख्न मन लाग्यो ।
सबलसँगै गाडीका केही कमजोरी नहुने कुरै भएन । त्यसलाई पनि सरल भाषमा यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ । बीवाइडीका गाडीको क्रेज बजारमा राम्रै छ । त्यसमाथि प्रिमियम सेग्मेन्टमा आएको सिलायन-सेभेन बलियो नहुने कुरै भएन ।
बीवाइडी सिलायन-सेभेन ४.८ मिटर लामो एसयूभी हो । ब्याट्री साइज, रेन्ज र फिचरका हिसाबले निकै बलियो मान्न सकिने एसयूभी अहिल्यै किन्दा ७२ लाख ९९ हजार रुपैयाँमा पाइन्छ । जुन ‘भ्यालु फर मनी’ पनि हो ।
यसलाई चलाएकै आधारमा केही सबल पक्षका विषयमा यहाँ चर्चा गरिएको छ ।
दमदार डिजाइन
बीवाइडीले सिलायन-सेभेनलाई ‘ओसियन-एक्स’ स्टाइलमा फ्रन्ट लुक्स तयार पारेको छ । समुन्द्रबाट प्रेरित डिजाइन निकै स्पोर्टी लाग्छ । यसले ‘आइएफ’ डिजाइन अवार्ड पनि जितेको थियो ।

‘लो हूड’, पप-आउट डोर ह्याण्डल, वारपार फैलिएको एलईडी टेल ल्याम्पले यसको डिजाइनलाई दमदार बनाएको छ ।
पावर प्याक पर्फमेन्स
सिलायनलाई तपाईंले इको मोडमा चलाउनुभयो भने धेरै मज्जा नआउन सक्छ । तर, नर्मल र स्पोर्टस मोडमा जानुभयो भने दिल खुस हुन्छ । त्यसैले सहरी क्षेत्रमा सधैँ नर्मल मोडमा चलाउन सल्लाह दिन सकिन्छ । १०० किलोवाटको मोटरकै कारण उपभोक्ताले कम मूल्यमा गाडी चढ्न पाएका छन् । टर्क भने ३८० न्युटन मिटर नै रहेको कम्पनीको दाबी छ ।
बलियो रेन्ज
बीवाइडीले सिलायन-सेभेनमा ७१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । सडकमा चलाउँदा पनि ४०० किलोमिटर माथिनै रेन्ज पाउन सकिन्छ । जुन निकै बलियो हो ।

प्रविधि र चार्जर
सिलायन-सेभेनमा भेहिकल टु लोड प्रविधि दिइएको छ । जसले गाडीबाट बिजुली लिएर घरायसी र अन्य प्रयोजनमा विद्युत प्रयोग गर्न सहयोग गर्छ ।अत्याधुनिक मानिएको ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) फिचर र प्रिमियम क्याबिनले साथ दिन्छ । साथै, यसले ११० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।
आकर्षक मूल्य र बटमको प्रयोग
साइमेक्स इंक प्रालिले निकै आकर्षक मूल्यमा सिलायन-सेभेन ल्याएको मान्न सकिन्छ । अटो-थ्री सुपेरियर भेरियन्ट नै झण्डै ६८ लाख रुपैयाँमा बिक्री गरेको कम्पनीले एटो-थ्रीभन्दा ५ लाख रुपैयाँ बढी मूल्यमा यसलाई बजारमा उतारेको हो ।

सिलायन-सेभेनमा धेरै बटमहरू पाउन सकिन्छ । उसोत बीवाइडीका यसअघिका गाडीमा पनि धेरै बटम छन् । यसमा रहेको युनिक गियर नब, एसी संचालन बटम, भ्वाइस कमाण्ड बटम, अटो होल्डको लागि बटम, ड्राइभ मोड सेलेक्ट गर्न बटम छन् । यी सबै सेन्टर कन्सोलमा पाउन सकिन्छ ।
कमजोर पक्ष के ?
बाहिरबाट निकै स्पोर्टी लाग्ने एसयूभीको ईको मोडमा पावर कम छ । अर्को, तपाईं पहिला एटो-थ्री सुपेरियर चढेर सिलायन-सेभनमा अपग्रेड हुँदै हुनुहुन्छ भने ड्राइभिङ सिटमा बस्दा धेरै कुरा नयाँ लाग्दैन ।

यी दुई कुरा बाहेक सिलायन-सेभेन बजारमा धुम मच्चाउनको लागि तम्तयार भएर लागेको देखिन्छ । कस्तो व्यापार गर्छ, त्यो थाहापाउन दशैंदेखि तिहारसम्मको व्यापारले धेरै कुरा बोल्छ ।

