काठमाडौं । नेपाली अटोमोबाइल व्यवसायी स्पष्ट रूपमा दुई कित्तामा विभाजन भएका छन् । जसको पुष्टि दुई संस्थाले दुई साताको अन्तरमा आयोजना गर्न लागेको एउटै प्रकृतिको अटो शोले गर्दैछ ।
नाडा अटो शोको १७ औं संस्करण आगामी भदौ ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । त्यसभन्दा अगाडि नै साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’को पहिलो संस्करण भृकुटीमण्डपमै आयोजना हुनेछ ।
यी दुई अटो शोको घोषणा नाडा भित्र मौलाएको गुटबन्दीको परिणाम हो भन्दा कुनै गलत बोलेको अर्थ लाग्दैन । नाडा उमेरले झण्डै ५० वर्ष हुन लागेको संस्था हो । यसले नेपाली अटोमोबाइल क्षेत्रको विकासको लागि लामै लबिङ नगरेको होइन । तर, संस्थामा राजनीतिक रङ पैदा भएसँगै दुई गुटमा प्रष्ट विभाजन देखियो ।
झण्डै साढे तीन वर्ष अगाडि ध्रुवबहादुर थापा र करणकुमार चौधरी प्यानल नै निर्माण गरेर चुनावी मैदानमा उत्रिए, त्योसँगै नाडामा प्रष्ट दुई चिरा देखियो । त्यो चिरा चुनावपछि मेटुनु पथ्र्यो, त्यो मेटिएन । त्यसपछिको चुनावमा फाटिएको व्यवसायिक एकता जोड्न भन्दै सबै टिम सर्वसहमत छनोट भए पनि एकले अर्कोलाई सिध्याउने र लान्छना लगाउने प्रवृति मौलायो ।
दुई संस्थाले जुँगाको लडाइँ जसरी अटो शोको पसल थापेका छन् । ती पसलमा गएर सामान बिक्री गर्ने वा प्रदर्शनीमा बस्नेहरूको टुङ्गो लागेको छैन । जो दुवै संस्थामा कार्यकारी पदमा छैनन्, उनीहरू पर्ख र हेरको अवस्थामा छन् ।
करिब ४/५ वर्ष अगाडिदेखि नाडा भित्रको गुटबन्दीलाई मन नपराउने गाडी आयातकर्ताहरू फरक संस्था बनाउन चाहन्थे । तर, अग्रसरता लिने मानिस देखिएको थिएन । अझ, नाडाका केही पूर्वाध्यक्षहरूले मिलेर जान सुझाउँदै आएका थिए । तर, परिणामतः फरक संस्था खुलेर छाड्यो ।
नाडाको राजनीतिलाई नजिकबाट हेरेका पूर्वाध्यक्षहरू सौरभ ज्योति र शेखर गोल्छाहरू नै नयाँ संस्था बनाउने संस्थापक बने ।
नाडाका पूर्वाध्यक्षहरूको साथ पाएसँगै बाहिर रहेका व्यवसायी मिलेर ‘नेपाल अटोमोबाइल इम्पोर्टस एण्ड म्यानुफेक्चरर्स एशोसिएशन’ नामक संस्था बनाए । यसलाई छोटकरीमा ‘नाइमा’ भन्न थालिएको छ ।
पुरानो नाडा र नयाँ संस्था नाइमामा अहिले व्यवसायीहरू विभाजित भएका छन् । यी दुई संस्थामा विभाजित भएका अटोमोबाइल व्यसायीहरूले दुवै अटो शोमा भाग लिन्छन् । वा, एउटा मात्रै अटो शो हुन्छ । या, व्यवसायीले आफ्नो संलग्नता अनुसारको अटो शोमा भाग लिन्छन् भन्ने अहिल्यै खुलिसकेको छैन ।
नाडामा रहेका आयातकर्ताहरू
चार पाङ्ग्रे, दुई पाङ्ग्रे र लाइट कमर्शियलको आयातकर्ताहरू नाडामा निकै कम संख्यामा देखिएका छन् । नाडामा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्प र एवोन भी, अवतार, एक्सपेङ, हिरो मोटरसाइकल जस्ता ब्राण्डको आधिकारिक बिक्रेता सीजी मोटर नाडा अटो शोमा प्रतिबद्ध देखिन्छन् ।
यसका अलावा सीजी मोटर्सले बिक्री गर्ने रेडारा पीकअप र एमएडब्लू ग्रुप अन्तर्गतको मुख्यतया यामाहा, दीपल र डोङफेङ ब्राण्ड पनि नाडासँग नै आबद्ध छन् । माथि उल्लेख भएका अधिकांश ब्राण्ड नाडा अटो शो २०२५ मा देखिने छन् ।
विगतको अनुभवका आधारमा अटो शोमा गाडी किन्छु वा बुकिङ गर्छु भन्ने ठूलो जमात रहेको अनुमान गर्न सकिन्छ । तर, सातैपिच्छे अटो शो आयोजना हुँदा नेपाली जुत्ता मेलाको हालत नहोला भन्न सकिँदैन ।
नाइममा पनि आयातकर्ताको लामै लिष्ट छ । नाइममा साँग्रिला मोटर्सको लीप र सिट्रोन, पायोनियर मोटोकर्पको जिकर र निसान, पारामाउन्ट मोटर्सको एमजी र विलिङ ब्राण्ड छन् । त्यसैगरी एसपीजी अटोमोबाइलको ओमोडा/जेको, युनाइटेड ट्रेडर्स सिण्डिकेटको टोयोटा, वैद्यज् इनर्जीको एथर, हंशराज चुलास चन्द एण्ड कम्पनीको बजाज, ट्रयाम्फ, केटीएम जस्ता ब्राण्ड छन् ।
अग्नी इनकर्पोरेट आयातकर्ता रहेको महिन्द्रा, कन्टिनेन्टल ट्रेडिङ आयातकर्ता रहेको किया र इसुजु पनि नाइमामा नै हुनेछन् । साथै, लक्ष्मी इन्टरकन्टिनेन्टल आधिकारिक बिक्रेता रहेको हुन्डाई, लक्ष्मी इमोबिलिटीको केई र पूजा इन्टरनेशनलको फक्सवागेन पनि नाइमामा हुनेछ ।
यसका अलावा होण्डाका मोटरसाइकल तथा स्कुटर र साइमेक्स इंकले बिक्री गर्ने बीवाइडी पनि नाइमातर्फ खुलेको देखिन्छ ।
साउन र भदौमा दुई अटो शो
काठमाडौंको भृकुटीमण्डपमा दुई साताको बीचमा दुई अटो शो आयोजना हुने भएको छ । साउन २१ गतेदेखि २५ गतेसम्म नाइमाले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नाइमाको स्टल अहिलेसम्म बुकिङ खुला भएको छैन । तर, भृकुटीमण्डपलाई बुझाउनु पर्ने रकम भने बुझाइ सकेको जनाइएको छ ।
भदौ ४ गतेबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना हुनेछ । यसको बुकिङ खुला भएर बन्द पनि भइसक्यो । तर, अहिलेसम्म कति ब्राण्डले अटो शोमा भाग लिँदैछन् भन्ने खुलाइको छैन ।
अहिले वर्षभरी नै जुत्ता मेला चल्छ । तर, हेर्न र किन्न जाने मानिस भने हुँदैनन् । त्यही अवस्था ‘अटो शो’को नबनोस् दुवैलाई शुभकामना ।
दुई संस्थाले जुँगाको लडाइँ जसरी अटो शोको पसल थापेका छन् । ती पसलमा गएर सामान बिक्री गर्ने वा प्रदर्शनीमा बस्नेहरूको टुङ्गो लागेको छैन । जो दुवै संस्थामा कार्यकारी पदमा छैनन्, उनीहरू पर्ख र हेरको अवस्थामा छन् । उनीहरूले निर्णय लिइसकेका छैनन् ।
जुत्ता मेलाको हालत नहोस्
महँगो भृकुटीमण्डप, सीमित अवलोकनकर्ता र प्रदर्शनीकर्ता रहेको ठाँउमा दुई साताको फरकमा आयोजना हुने अटो शो लाभदायक नहुन सक्छ । यहाँ लाभको कुरा गर्दा आयातकर्ता, बिक्रेता, क्रेता र अवलोकनकर्ता सबैले केही न केही पाउनु पर्ने हुन्छ ।
विगतको अनुभवका आधारमा अटो शोमा गाडी किन्छु वा बुकिङ गर्छु भन्ने ठूलो जमात रहेको अनुमान गर्न सकिन्छ । तर, सातैपिच्छे अटो शो आयोजना हुँदा नेपाली जुत्ता मेलाको हालत नहोला भन्न सकिँदैन ।
नेपाली जुत्ताले सुरूका दिनमा ५ दिने मेला लगाउँदा करोडौंको कारोबार गर्थ्यो । अहिले वर्षभरी नै जुत्ता मेला चल्छ । तर, हेर्न र किन्न जाने मानिस भने हुँदैनन् । त्यही अवस्था ‘अटो शो’को नबनोस् दुवैलाई शुभकामना ।

