मूल्यकै कारण प्रतिस्पर्धीलाई चुनौती थप्ने तयारीमा ‘नामी-०६’

काठमाडौं । डोङफेङको पछिल्लो उत्पादन नामी-०६ नेपाल आउने पक्का भइसकेको छ । चिनियाँ उत्पादकले गत अप्रिल अन्तिममा चीनमा सार्वजनिक गरेको नामी-०६ भदौबाट नेपालमा पनि बिक्री सुरू हुने भएको हो ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने नामी-०६ ले आफ्नो सेग्मेन्टमा उपलब्ध कारहरूलाई कडा टक्कर दिने अनुमान गर्न सकिन्छ । प्योर ईभी प्लेटफर्म, दुई ब्याट्री अप्सन र धेरै नेपालीले खोज्ने जस्तै डिजाइनमा तयार भएको कारण यसको नेपालमा पनि चर्चा भइरहेको छ ।

भदौ ३ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न लागिएको नामी-०६ को बुकिङ त्यहीँ खुला हुनेछ । अन्तर्राष्ट्रिय बजारमा १३५ किलोवाटको इलेक्ट्रीक मोटरसहित बिक्री सुरू भएको यो एसयूभी नेपाल भने ९९ किलोवाट क्षमताको मोटरमा उपलब्ध हुनेछ ।

नामी-०६ ले नेपाली बजारमा केई एक्सथ्री प्रो, एमजी एस-५, हुन्डाई क्रेटा, बीवाइडी एटो-थ्रीको एड्भान्स मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । यसको प्रतिस्पर्धा टाटा नेक्सन केथ्रीदेखि महिन्द्रा एक्सयूभी-४०० सँग पनि हुनेछ ।

मूल्यकै कारण रोचक हुने

अहिलेसम्म नामी-०६ कति मूल्यमा बजारमा आउँछ भन्ने एकिन जानकारी प्राप्त भएको छैन । तर, यसको टप भेरियन्टको मूल्य नै ५० लाख रुपैयाँभन्दा तल हुन सक्नेछ । त्यसको मतलब निकै आकर्षक मूल्यमा नामी-०६ बिक्री सुरू हुनेछ । जुन अन्य ब्राण्डको लागि चुनौती हो ।

नामी ह्याचब्याकको सफलता

नामी-०६ नेपाली बजारमा नामी-०१ ह्याचब्याकको सफलतासँगै जोडिएर आउन लागेको हो । त्यसको फाइदा कम्पनीले पक्कै पाउने छ । डोङफेङ ग्रुप र नामी दुवैले आफ्नो पहिचान नेपालमा बनाएको कारण नामी-०६ लाई थप फाइदा पुग्नेछ ।

दुई ब्याट्री अप्सन

डोङफेङले नामी-०६ एसयूभीलाई ४४.९ र ५१.८७ किलोवाट आवरको एलएफपी ब्याट्री दिएर ल्याएको छ । जसको रेन्ज ३५० किलोमिटर आसपास रहनेछ ।

साइज सबै किसिमका पार्किङलाई उत्कृष्ट

नामी-०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६४५ एमएम छ । यसमा रहेको २७१५ एमएम लामो ह्वीलबेसले आरामदायी यात्राको लागि सहयोग गर्छ । यसको साइज देख्दा अधिकांश घरायसी पार्किङमा सहजै पार्क गर्न सकिन्छ ।

 

अन्य फिचरले पनि तान्छ

नामीको इलेक्ट्रीक एसयूभीमा टी आकारमा सजिएको एलईडी हेडल्याम्प पाउन सकिन्छ । स्प्लीट टेलगेट, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, भ्येन्टिलेटेड र मसाज सिट दिइएको छ ।

एडास फिचर सहित उपलब्ध हुने नामी-०६ एसयूभीमा पानारोमिक सनरुफ, फोल्डेबल सिट, १२८ कलरमा सजिएको एम्बियन्ट लाइट पाउन सकिन्छ । टु स्पोक स्टेरिङ ह्वील, मिनिमल डिजाइनमा तयार भएको क्याबिन र लेदर सिट दिइएको छ ।

एमएडब्लूको नेटवर्क र चार्जिङ पूर्वाधार

नेपालकै पुरानो मध्येको एक अटोमोबाइल व्यवसायिक घराना एमएडब्लूले यसलाई नेपालमा बिक्री गर्नेछ । देशभर रहेको १०० भन्दा बढी चार्जिङ स्टेशन, मुख्य सहरमा थ्री एस सुविधा सहितको सर्भिस सेन्टरहरूले नामी किन्नेलाई निरास बनाउने छैन ।


Back_to_top