पप्पु कम्पनीकाे सडक निर्माणमा लापरबाहीप्रति स्थानीयको आक्रोश

गुलरिया । गुलरिया र मधुवन नगरपालिकालाई जोड्ने हुलाकी सडक खण्ड निर्माणको जिम्मा पप्पु कम्पनीले पाएकोमा कम्पनीले सो खण्डको निर्माणमा चरम लापरवाही गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् । 

पप्पु कम्पनीले पूर्व-पश्चिम राजमार्ग जोड्ने जब्दीघाटको पुल चर्को विरोधका बीच १६ करोड लागतमा निर्माण गरेको जब्दी घाटको पुल एक वर्ष पनि टिकेन । जब्दीघाटको पुल उद्घाटन नहुँदै भत्किएको थियो । भत्किएको पुल केन्द्रीय तहले अनुसन्धान गरिरहेको छ । 

तर, हुलाकी सडकअन्तर्गत ढोढरी र भुरीगाउँ सडकखण्डको निर्माणमा भने उनीहरुले चित्त बुझाएका छन् । ‘राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,’ सांसद तिलक शर्मा ‘हिमाल’ले भने । कसैले यही सडकखण्ड राम्रोसँग बनाउने, कसैले मनपर्दी गर्न पाइन्छ रु उनले प्रश्न गरे । 

चर्को गर्मी बढेसँगै अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको नेपाल-भारतको सीमा मुर्तिहादेखि राजापुरसम्मको यात्रा कष्टकर बनेको छ । उता अनुपयुक्त डाइभर्सनको संरचनाका कारण हुलाकी सडकमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यतिबेला हुलाकी सडककै कारण सास्ती खेप्न बाध्य रहेको स्थानीयवासीले गुनासो गरिरहेका छन् । 

सडक हिलाम्मे हुँदा आवतजावतमा असर पर्दा सर्वसाधारण मर्कामा परेको उनीहरुको गुनासो छ । हिलाम्मे सडकका कारण गुलरिया, मधुवन र राजापुरको व्यवसाय चौपट छ । बजार क्षेत्रमा हिलो हटाउन पटकपटक आग्रह गरेको भए पनि सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । हिलाम्मे सडक खण्डमा ठेकेदारलाई ढुङ्गा हाल्न लगाएर सडक सञ्चालन गर्नुपरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 

निर्माण सामग्री संकलनको काम भइरहेको र हुलाकी सडक निर्माणले तीव्रता नपाएको ठेकेदार कम्पनीका साइट इन्चार्ज सूर्य गुरुङले बताए । 


Back_to_top