काठमाडौं । विद्युतीय कारको माग उच्च भएसँगै विभिन्न कम्पनीले ईभी आयातलाई तिब्रता दिएका छन् । अबको दुई महिना भित्रै बीवाइडी र सिट्रोनले नयाँ इलेक्ट्रीक कार नेपाल ल्याउन लागेका हुन् ।
बीवाइडी डल्फीन र सिट्रोन सीथ्री इलेक्ट्रीक गरी दुई नयाँ मोडल नेपाल आउन लागेका हुन् । भारतीय बजारमा उत्पादन भएको सिट्रोन सीथ्री इलेक्ट्रीक मूल्यका हिसावले करिब ३० लाख हाराहारीमा विक्री गर्नेगरी नेपाल आउँछ भने बीवाइडी डल्फीन ४२ देखि ४५ लाख भित्रै आउने हाम्रो अनुमान छ ।
यी दुबै कार ह्याचव्याक मोडल हुन् । सिट्रोन सीथ्री दुई दिनअघि मात्रै नेपालमा विक्री सुरु भएको सीथ्री मोडलको इलेक्ट्रीक भर्सन हो । तर, बीवाइडी डल्फीन भने पूर्ण ब्राण्ड न्यू मोडल हो । यी दुई मोडलमा धेरै विभन्नता पाउन सकिन्छ । यी दुई गाडीको मुख्य समानता भनेकै दुबै मोडल इलेक्ट्रीक मोटरबाट संचालन हुन्छ ।
बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले डल्फीन ल्याउन गर्नु पर्ने सबै तयारी लगभग पुरा भएको जनाएको छ । त्यस्तै सिट्रोनको आधिकारीक विक्रेता सँग्रिला मोटर्सले सीथ्री इलेक्ट्रीक आगामी महिना बजारमा आउने जनाएको छ ।

छिट्टै नेपाल आउन लागेका दुई ह्याचव्याक मोडलमा ग्राहकले कुनलाई धेरै मनपराउँछन्, त्यो हेर्न भने अझै केही महिना कुर्नु पर्ने हुन्छ । तर, यी दुई मोडलमा रहेका भिन्नता भने यस प्रकार रहेका छन् ।
मोटर र ब्याट्री साइज
बीवाइडी डल्फीनमा ४४ किलोवाट आवर क्षमताको एलएफपी ब्लेड ब्याट्री पाउन सकिन्छ । कम्पनीका अनुसार डल्फीन ह्याचव्याकमा ७० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्छ ।
सिट्रोनको सीथ्री इलेक्ट्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री पाउन सकिन्छ । यसमा रहेको ४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।
टप स्पीड
सिट्रोन ई–सीथ्रीमा दिइएको मोटरले ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता भने १०७ किलोमिटर प्रतिघण्टासम्म हो । कम्पनीले यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित ईको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड दिएको छ ।

बीवाइडी डल्फीनले शून्यदेखि १०० किलोमिटरको स्पीड १०.९ सेकेन्डमा भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता सिट्रोन सीथ्रीको तुलनामा धेरै छ । यसले प्रतिघण्टा १५० किलोमिटरको स्पीड प्रदान गर्ने क्षमता राख्छ । कम्पनीले यसमा इनर्जी सेभिङ, स्नो, स्पोर्टस् र कम्फर्ट ड्राइभ मोड दिइएको छ ।
साइज
बजारमा उपलब्ध फोर मिटर एसयूभीको साइज भन्दा केही मात्रै ठूलो डल्फीनको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । यसमा निकै लामो २७०० एमएमको ह्वीलवेस पाउन सकिन्छ । डल्फीनमा १६ र १७ इन्चको अलोय ह्वील दिइएको छ ।
सिट्रोन सीथ्रीको लम्बाई ३९८१ एमएम, चौडाई १७३३ एमएम, उचाई १६०४ एमएम र ह्वीलवेस २५४० एमएम पाउन सकिन्छ । यसमा १५ इन्चको अलोय ह्वील रहेको छ ।

अन्य फिचर
बीवाइडी डल्फीनमा फ्ल्याटवटम मल्टी फङ्गशनल स्टेरिङ ह्वील, ५ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको फ्लोटीङ टचस्कृन, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेष्ट, पानारोमीक सनरुफ जस्ता फिचर पाउन सकिन्छ ।
सिट्रोन सीथ्री इलेक्ट्रीकमा १० इन्चको टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी–बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड फिचर उपलब्ध छन् ।
सुरक्षा फिचर
बीवाइडीले डल्फीनलाई सुरक्षीत बनाउन फ्रन्ट पार्किङ राडार, सिट बेल्ट वार्निङ लाइट, टायर प्रेसर मोनिटर, एडीएएस फिचर प्रदान गरेको छ ।
सीथ्रीमा सुरक्षाको लागि रेगुलर गाडीमा हुने जस्तै ड्यूल एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, इन्जिन कुलिङ सिस्टम, हाई स्पीड अलर्ट सिस्टम र स्पीड सेन्सिङ अटो डोर लक लगायत छन् ।


