काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब पानी जहाजको युगमा प्रबेश भइसकेको बताएका छन् । पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन् ।
‘हामी पानी जहाजको यूगमा प्रवेश गरिसकेका छौँ, हामीसँग बन्दरगहा छ, जहाज मात्र नभएको हो,’ प्रम ओलीले भने ।
काठमाडौंबाट कोशीसम्म सामान लगेरै भए पनि पानी जहाज चलाउन सकिने भन्दै उनले भने, ‘गंगा नदिमा हाम्रै पानी जान्छ, त्यहाँ जहाज चल्छ । त्यहाँ जाने पानी हाम्रै हो । कोशी गण्डकीबाट गएको पानीले गंगा बगेको छ ।’
उनले जस्तो बाटो उस्तै गाडी चलाइने बताउँदै हाम्रो नदी सानो भए त्यही अनुसारको सानो जहाज बनाउन निर्देशनसमेत दिए ।
‘हाम्रो नदी गहिरो छैन त्यसकारण जहाजको चौडाई बढाएर कम गहिराइमा चलाउन सकिन्छ भने त्यस्तै पानी जहाज बनाएर चलाउनु पर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले भारतको तर्फबाट गण्डकसम्मको डीपीआर तयार भएको जानकारी दिए ।
‘म भारत जाँदा रेल र जहाज दुबैको सहमति भएको छ । हामी भुपरिवेष्ठित छाँै, तर समुन्द्रको टुप्पो टुप्पो हुँदै आउदा हाम्रै नदीमा आइपुगिन्छ नी,’ प्रधानमन्त्री ओलीले भने ।
उनले जहाज सञ्चालनका लागी डाइभरर्सनका धेरै प्रकृया रहेको समेत बताए । पानी जहाज कम्पनी कसैलाई जागिर खुवाउन नभई देशलाई एक कदम अघि बढाउनका निम्ति सुरु गरिएको दाबी गरे ।

