काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी नेटाले निकै स्टाइलिस मोडल नेटा एक्स चीनमा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नेटा एक्स मोडल नेटा यूको फेसलिफ्ट मोडल हो ।
यसअघि बजारमा रहेको नेटा यू-२ मोडललाई परिमार्जन गरेर कम्पनीले नेटा एक्स मोडल बजारमा ल्याएको हो । यसको लम्बाई ४६१९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । कम्पनीले यसमा २७७० एमएमको ह्वीलवेस दिएको छ ।
नेटा एक्समा १२० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा सबैभन्दा स्मार्ट फिचरको रुपमा क्वालकमको स्मार्टड्रागन ८१५५ ककपीट दिइएको छ । यसमा ३ वटा स्मार्ट ड्राइभिङ चिप दिइएको छ ।
कम्पनीले यसमा ७२.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले अधिकतम ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
नेपालमा पनि सिजी मोटर्सले नेपाल ल्याएर नेटाका उत्पादन बिक्री गर्दै आएको छ । नाडा अटो शो २०२३ मा नेटा यू मोडल ल्याएर कम्पनीले प्रदर्शनी गरेको थियो । कम्पनीले नेटा यूको बुकिङ समेत अटो शोमा खुल्ला गरेको थियो ।

सम्भवत कम्पनीले नेटा एक्स मोडल नै नेपाल ल्याउने छ । बुकिङ लिँदा नै अटो शोमा देखाइएको मोडलभन्दा फरक नेटा यू आउने भनिएको थियो । अहिले यसलाई परिमार्जन गरेर चीनमा नेटा एक्स मोडल ल्याएको कारण यहि मोडल नेपाल आउने अनुमान गर्न सकिन्छ ।
चीनमा यसको मूल्य १७ हजार डलरदेखि २० हजार डलरसम्म कायम गरेर बिक्री सुरु भएको छ । यो मूल्यलाई चीनमा निकै आकर्षक मूल्य भनिएको छ ।
गाडीको साइज र फिचर अनुसार निकै राम्रो मूल्य भएको समाचार माध्यमहरुले टिप्पणी गरेका छन् ।

