नेपाल आउँदै दुई नयाँ इलेक्ट्रीक एसयूभी, कुनमा कस्ता फिचर ?

काठमाडौं । विद्युतीय कारको उच्च माग रहेकै कारण नेपाली बजारमा एकपछि अर्को मोडल आइरहेका छन् । त्यसमा पनि ५० लाखदेखि ६५ लाख सेग्मेन्टमा धेरै मोडल ल्याइरहेका छन् ।

अहिले बजारमा चल्तीमा रहेका बीवाइडी एटो ३, एमजी जेडएस ईभी, हुन्डाई कोना ईभी, टाटा नेक्सन ईभी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न विभिन्न कम्पनीले नयाँ मोडल ल्याउने क्रमलाई तिब्रता दिएका छन् ।

नाडा अटो शोबाट बुकिङ सुरु भएको सेरेस ३ मोडल दशैंपछि ग्राहकलाई हस्तान्त्रण गर्नेगरी कम्पनीले काम अगाडि बढाएको छ । त्यस्तै आगामी मार्चसम्ममा सिजी मोटर्सले नेटा यू मोडल ल्याउने यसअघि नै घोषणा गरिसकेको छ । यी मोडलका अलावा केही ब्राण्डले नयाँ एसयूभी बजारमा ल्याउने तयारीलाई तिब्र बनाएका छन् ।

जनवरी २०२४ अगाडि (अबको दुई–तीन महिना भित्रै) बजारमा चेरी ओमोडा, चांगनको इलेक्ट्रीक ब्राण्ड डिपल एस–७ नेपाल ल्याउने घोषणा गरेका छन् ।

चेरी ओमोडा–५

चेरीको ओमाडा–५ ईभी नेपाल ल्याउने तयारी तिब्र भइसकेको छ । चाँडोमा डिसेम्बर र ढिलोमा जनवरीसम्म ओमोडा ईभी नेपाल आउने छ । चेरीले यसमा रहने मोटर पावर र ब्याट्री प्याकको क्षमता पनि सार्वजनिक गरिसकेको छ ।

चेरी अमोडा ५ मा ६१ किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सन रहने छ । नेपाली बजारमा भने सुरुमा ६१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटरमा आउने छ । जबकी अन्तर्राष्ट्रिय बजारमा भने १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुनेछ ।

चेरीले ओमोडा ५मा सार्पलाइन पेन्ट भएको क्लोज ग्रिल रहेको छ । यसको लोअर ग्रिलमा पनि युनिक तथा स्पोट्स भर्टिकल स्ल्याट रहेको छ । नयाँ डिजाइनको एलईडी हेडलाइट्स, हेडल्याम्प क्लस्टरका साथै ठूलो अक्षरमा अमोडा लेखिएको छ ।

चांगन डिपल एस सेभेन

चिनियाँ गाडी निर्माता चांगन अटोले क्याटल र हुवावेसँग मिलेर निर्माण गरेको ‘डिपल एस सेभेन’ इलेक्ट्रीक एसयूभी नेपाल आउने भएको छ । एमएडब्लु बृद्धिले उक्त कार नेपाल ल्याउने घोषणा गरेको हो ।

चांगन डिपल एस सेभेन १६० किलोवाट र १९० किलोवाट गरी दुई क्षमताको मोटरमा उपलब्ध रहेको छ । यसको पिक पावर ३२० एनएम रहेको छ । यो कार मात्र ६.७ सेकेन्डमा ०–१०० किलोमिटर स्पीड भेट्न सक्छ ।

यस्तै, यसमा ६६.८ र ७९.९७ किलोवाट आवर गरी दुई अप्सनमा ब्याट्री प्याक पाउन सकिन्छ । यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ६२० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । कम्पनीले ल्याउने भेरियन्टका विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top