११ लाख हाराहारी मूल्यमा लुमिन ईभी, रेन्ज ३०१ किलोमिटर

काठमाडौं । कम मूल्यमा कार खोज्नेको आवश्यकता पुरा गर्न विभिन्न कम्पनीले बजेट कार बनाउँदै आएका छन् । त्यसमा पनि ईभीको उत्पादन र बिक्री बढेसँगै चीनमा मिनी ईभी उत्पादनले तिब्रता पाएको हो ।

चिनियाँ ब्राण्ड चांगनले पनि मिनी ईभी ‘लुमिन’ चीनबाट बिक्री सुरु गरेको छ । सुुरुवाती मूल्य ८ हजार ५ सय अमेरिकी डलर (११ लाख नेपाली रुपैयाँ हाराहारी) कायम गरिएको चांगन लुमिन ईभीले एक पटकको फुल चार्जमा ३०१ किलोमिटर रेन्ज दिने दावी कम्पनीको छ ।

चीनमा बिक्री गर्दै आएको मूल्यलाई आधार मान्दा यो मिनी कार नेपाल आउँदा एमजी कोमेट हाराहारी कै मूल्यमा उपलब्ध हुने देखिन्छ ।

‘इपीएओ प्योर इलेक्ट्रीक प्लेटफर्म’मा बनेको लुमिन दुई ढोका भएको ४ जनाले आरामदायी तरिकाले यात्रा गर्न मिल्ने विद्युतीय कार हो । यसको लम्बाई ३२७० एमएम, चौडाई १७०० एमएम र उचाई १५४५ एमएम छ ।

यसको चौडाई अन्य मिनी कारको तुलनामा धेरै भएको कारण यात्रुले निकै आरामदायी यात्रा गर्न पाउने छन् । यसमा १९८० एमएम ह्वीलवेस रहेको छ ।

Lumin ev

निकै आकर्षक इन्टेरियर रहेको लुमिन ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटीङ टचस्कृन, रिभर्स क्यामरा, मोवाइल फोन इन्टरकनेक्सन, भोइस कन्ट्रोल जस्ता हाइटेक फिचर पाउन सकिन्छ ।

चांगनको लुमिन मिनी ईभीमा ३५ किलोवाटको मोटर तथा २७.९९ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक रहेको छ । उक्त ब्याट्रीलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ । मिनी ईभी भएपनि फास्ट चार्जर सपोर्ट गर्ने हुँदा यसले धेरैको मन जित्ने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा पनि चांगन मोटर्सका गाडीहरु बिक्री भइरहेका छन् । नेपालका लागि चांगनको आधिकारीक वितरक एमएडब्लू वृद्धिले चाँडै ईभीहरु नेपाल ल्याउने घोषणा गरेको छ । यस्तोमा लुमिन ईभी पनि छिटै नेपाल आउने मोडलमा पर्ने देखिन्छ ।


Back_to_top