भदौ १ गतेदेखि मान्छे मार्ने चालकलाई १० वर्ष कैद

काडमाडाैं । मान्छे मार्ने सवारी चालकलाई अब १० वर्षसम्म जेलहुने भएको छ । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा मान्छे मार्ने सवारी चालकलाई यसअघि दिइएको धरौटीमा छुट्ने छुटलाई प्रतिबन्ध लगाइएको छ ।

यो व्यवस्थासँगै लापरवाही रुपमा सवारी चलाएर दुर्घटना भई यात्रु वा अन्य व्यक्तिको ज्यान लिएपनि कानुनी व्यवस्थाको फाइदा उठाएर धरौटीमा छुट्दै आएका सवारी चालकले अव उन्मुक्ति नपाउने भएका हुन् । 

सवारी साधन चलाउदा कुनै मानिसलाई किच्यो, ठक्कर दियो वा कुनै किसिमको सवारी दुर्घटना भई सवारीमा रहेको तथा बाहिर जुन सुकै स्थानमा बसेको भए पनि एकासी दिनभित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद गरीने भएको छ । 

साथै, उक्त सवारी चालकलाई तीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।

अहिलेको मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ नम्बर अनुसार २ वर्षसम्म मात्र कैद सजाय हुने अपराध भएमा धरौटी राखी रिहा हुन सकिने कानुनी व्यवस्थाको फाइदा लिदै धेरै चालक उम्कदै आएका थिए । 


Back_to_top