काठमाडौं । नेपाली क्यालेण्डरको नयाँ वर्ष दुई दिनपछि सुरु हुँदैछ । विश्व मानव जगत नै त्रसित हुनेगरि भएको कोभिड १९ को प्रकोपले विक्रम संम्बत २०७७ खासै सम्झन लायक रहेन । तर, कार बजारमा विश्वकै चर्चित ब्राण्ड बिएमडब्ल्यू र मलेसियन ब्राण्ड प्रोटोनले नेपालमा आफ्नो विक्री सुरु गरेका छन् ।

जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू लग्जरी, प्रिमियम, हाइटेक र मस्कुलर कार निर्माताको रुपमा चिनिएको ब्राण्ड हो । बिएमडब्ल्यूका एक्स सिरिजका कारहरु नेपालमा विक्री सुरु भएको छ । लक्ष्मी प्रिमियमले नेपाल ल्याएको प्रिमियम ब्राण्ड बिएमडब्ल्यू नेपालमा महंगा गाडी विक्री गर्ने आधिकारीक एजेन्सी भएको छ । कम्पनीले काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम र सर्भिस सेन्टर निर्माण गरेर आफ्नो सेवा दिदै आएको छ ।
जगदम्बा मोटर्सले नेपाल ल्याएको अर्को ब्राण्ड प्रोटोन हो । मलेसियन ब्राण्ड प्रोटोनले आफ्ना दुई मोडल नेपाल ल्याएर विक्री सुरु गरेको छ । कम्पनीले सागा सेडान र एक्स ७० एसयूभी नेपाल ल्याएको हो ।
प्रोटोन यसअघि पनि नेपाल आएको ब्राण्ड हो । यद्यपी अहिले प्रोटोनले भोल्भोको प्ल्याटफर्म समेत प्रयोग गरेर एसयूभी उत्पादन सुरु गरेकाले यसको चर्चा पहिलेभन्दा धेरै भइरहेको हो ।
दुई नयाँ ब्राण्ड नेपाल आउने
विक्रम संम्बत २०७८ मा नयाँ दुई ब्राण्ड नेपाल आउने भएको छ । चिनियाँ ब्राण्ड ग्रेटवाल र फ्रेन्च ब्राण्ड सिट्रोन नेपाल आउन लागेको हो ।
चिनियाँ ब्राण्ड ग्रेटवालकै लगानी रहेको हावलपनि ग्रेटवालकै शोरुममा राखेर विक्री गर्ने नेपाल आउने छ । ग्रेटवालले पिकअप, कार र एसयूभी नेपाली बजारमा ल्याउने यसको आधिकारीक वितरक भिजी इम्पेक्सले जनाएको छ ।
फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनका उत्पादन साँग्रिला मोटर्सले नेपाल ल्याउने छ । कम्पनीले सुरुमा सिट्रोन एयरक्रस ५ नेपाल ल्याउने छ । त्यसपछि कम्पनीले भारतमा उत्पादन गर्ने साना एसयूभी र इलेक्ट्रीक कार नेपाल ल्याएर विक्री गर्ने योजना साँग्रिला मोटर्सले बनाएको छ ।


