२३ दिनपछि आउँदै फेसलिफ्ट मारुती ब्रेजा, के-के भयो अपडेट ?

काठमाडौं । मारुती सुजुकीले आफ्नो लोकप्रिय सब फोर मिटर एसयूभी ब्रेजाको नयाँ फेसलिफ्ट मोडल आगामी जुलाइ २३ मा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले सन् २०२२ मा सार्वजनिक गरेको दोस्रो पुस्ताको ब्रेजालाई ४ वर्षपछि अपडेट गरेर बजारमा ल्याउन लागेको हो । ब्रेजाका लागि यो नै पहिलो ठूलो र महत्त्वपूर्ण अपडेट हुनेछ।

कम्पनीले फेसलिफ्ट ब्रेजालाई विभिन्न ठाउँमा परीक्षण गरिरहेको छ । अटो बजारमा यसपटक ब्रेजामा एडास जडान हुने अनुमान गरिए पनि विश्वसनीय स्रोतका अनुसार यो फेसलिफ्ट संस्करणमा एडास फिचर उपलब्ध हुने छैन ।

नयाँ ब्रेजा फेसलिफ्टको सबैभन्दा ठूलो अपडेटमध्ये १.० लिटरको टर्बो पेट्रोल इन्जिन हुन सक्छ । यो इन्जिन मारुतीकै फ्रोन्क्स गाडीबाट लिइने सम्भावना छ । फ्रोन्क्समा यो इन्जिनले १०० पीएस पावर र १४७.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प उपलब्ध छ ।

फ्रोन्क्समा यसको माइलेज म्यानुअलमा प्रतिलिटर २१.५ किमी र अटोमेटिकमा प्रतिलिटर २०.०१ किमी रहेको छ । जुन निकै राम्रो मानिन्छ । तर, ब्रेजा फ्रोन्क्सभन्दा गह्रौं भएकाले माइलेज अलि कम हुन सक्छ ।

नयाँ ब्रेजा फेसलिफ्टमा हाल उपलब्ध भइरहेको १.५ लिटरको के १५ सी स्मार्ट हाइब्रिड इन्जिनलाई पनि निरन्तरता दिइने अपेक्षा गरिएको छ । जसले १०३ पीएस पावर र १३९ एनएम टर्क दिन्छ । यो इन्जिन सीएनजी विकल्पमा पनि उपलब्ध छ।

ब्रेजा फेसलिफ्टको परीक्षणका क्रममा यसको सीएनजी ट्यांक गाडीको मुन्तिर (अन्डरबडी) जडान गरिएको देखिएको छ । यो बनावट मारुती भिक्टोरिस जस्तै छ । गाडीको मुनि ट्यांक राख्ने यो प्रविधिले गर्दा आगामी महिनाहरूमा ब्रेजा सीएनजीको बिक्री अझ बढ्न सक्छ ।

गाडीको बाहिरी आवरणमा सामान्य कस्मेटिक परिमार्जनहरू मात्र गरिनेछन्। यसको हेडलाइट, टेललाइट, अगाडि र पछाडिको बम्परका साथै एलोय ह्वीलको डिजाइनमा नयाँपन देख्न पाइनेछ ।

गाडीको इन्टेरियरमा नयाँ रङ र प्रिमियम सामाग्रीको प्रयोग गरिनेछ । सुरक्षा र सुविधालाई ध्यानमा राख्दै यसमा १०.१ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, अगाडिको सिटमा भेन्टिलेसन, इलेक्ट्रिकल्ली मिलाउन मिल्ने ड्राइभर सिट र एम्बियन्ट लाइटिङ जस्ता अत्याधुनिक सुविधाहरू थपिने सम्भावना प्रवल छ ।

नयाँ मारुती ब्रेजाले टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी थ्री एक्सओ, स्कोडा काइलाक र टोयोटा टाइसर लगायत एसयूभीसँग कडा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top