बजार खुलेसँगै नयाँ कार र मोटरसाइकल आउने, यी हुन् नेपाल आउने नयाँ मोडल

काठमाडौं । कोभिड संक्रमण केही रोकथाम उन्मुख देखिएको छ । पछिल्ला तीन दिनको तथ्यांकले यहि संकेत गरेको हो । करिब २० दिनदेखि काठमाडौं उपत्यका लगायत देशका प्रमुखहरु बन्द अवस्थामा रहेका कारण सबै अटोमोवाइल कम्पनीहरुले आफ्ना शोरुम बन्द गरेका छन् । यद्यपी मोटरसाइकल तथा कार किन्न चाहनेको लागि उनिहरुले अनलाइन मार्फत बुकिङ भने लिइरहेका छन् ।

कोभिड संक्रमण नियन्त्रणमा आउन थालेसँगै अबको दुई हप्ता भित्र बजार आंशिक खुल्ने अनुमान सुरु भएको छ । यसले विभिन्न कम्पनीहरुले आफ्ना नयाँ उत्पादन बजारमा ल्याउन बाटो खोल्ने छ । अहिले भारतमा पनि लगभग सबै कार तथा मोटरसाइकल उत्पादकले आफ्नो प्लान्ट बन्द गरेको अवस्था छ । यसले आफुहरुले मागगरे अनुसारको सप्लाई नपाउने चिन्ता व्यवसायीहरुमा देखिएको छ ।

‘एउटा मात्रै होइन सबै कम्पनीको सप्लाईमा समस्या देखिने अवस्था छ । हेरौँ कोभिड संक्रमणले कस्तो स्वरुप लिन्छ । त्यसै अनुसारको आगामी योजना तयार हुन्छ’, टीभीएस मोटर्सको आधिकारीक वितरक जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक कुमार अग्रवालले भने ।

अग्रवालको जस्तै धारणा अन्य व्यवसायीको पनि छ । महिन्द्रा, हुन्डाई, टाटा, मारुती सुजुकी जस्ता कम्पनीले पनि आफ्नो माग अनुसार गाडी पाउन सकेका छैनन् । यसले अब बजार खुलेपछि पनि सप्लाईमा समस्या रहने देखिएको छ । मोटरसाइकलमा पनि होन्डा, यामाहा, टीभीएस लगायत ब्राण्डले आफ्नो अर्डर अनुसार सप्लाई पाउन सकेका छैनन् ।

संक्रमण कम भएसँगै नेपाल आउने कार

बढ्दो संक्रमण र कमजोर उत्पादन क्षमता कारण महिन्द्राको नयाँ जेनेरेशन थार नेपाल आउन सकेको छैन । सन् २०२१ को सुरुवातमा नै नेपाल आउने भनिएको थार भारतमा उच्च माग र कम उत्पादनको कारण अहिलेसम्म नेपाल आउन नसकेको हो । संभवत निषेधाज्ञा सकिएपछि थार नेपाल आउने छ ।

हुन्डाई आई २० पनि नेपाल आउने तयारीमा रहेको अर्को मोडल हो । प्रिमियम ह्याचव्याक सेग्मेन्टको यो कार नेपालले माग गरे अनुसार सप्लाई नहुँदा नेपाल आउन नसकेको आधिकारीक विक्रेता कम्पनीले जनाएको छ । कोभिडका बीच पनि हुन्डाईको उत्पादन राम्रो संख्यामा भइरहेकोले यो कार पनि निषेधाज्ञा खुलेसँगै नेपाल आउने बुझ्न कठिन छैन ।

मारुती सुजुकी स्वीफ्टको फेसलिफ्ट मोडल बैशाखमा विक्री सुरु गर्ने तयारी अयातकर्ता कम्पनीले गरेको थियो । तर, निषेधाज्ञा सुरु भएकाले हुन पाएको छैन । यसको विक्री बजार खुलेसँगै सुरु हुने छ ।

जीप कम्पासको फेसलिफ्ट मोडल काठमाडौं आइसकेको भएपनि यसको आधिकारीक विक्री भने सुरु हुन पाएको थिएन । अब बजार खुलेसँगै कम्पास फेसलिफ्टको विक्री सुरु हुने छ ।

रेनो काइगर अर्को नेपाल आउने तयारी भइरहेको सब फोर मिटर एसयूभी हो । यसलाई कम्पनीले निषेधाज्ञा सकिएसँगै नेपाली बजारमा ल्याउने छ ।

माज्दाको सिएक्स ५ मोडल पनि नेपाल आएको छ । निषेधाज्ञा सुरु हुनु केहि दिन अघि मात्रै नेपाल आएको सिएक्स ५ को विक्री बजार खुल्ला हुने वित्तिकै सुरु हुने छ ।

मोटरसाइकल पनि बजार खुल्ने प्रतिक्षमा

निषेधाज्ञाको कारण होन्डा र रोयल इन्फिल्डले बजारमा ल्याउन लागेका नयाँ मोडल अहिले रोकिएका छन् । होन्डा सिबी हाइनेस ३५० र हर्नेट २.० दुई मोडल नेपाल आउने प्रक्रियामा रहेका छन् ।

रोयल इन्फिल्डको चर्चित मोडल मेटार ३५० पनि नेपाल आउने अन्तिम तयारी भइरहेको समयमा निषेधाज्ञा जारी भएको हो ।

यसका अलावा याडिया इलेक्ट्रीक स्कुटर पनि निषेधाज्ञाको कारण बजारमा विक्री सुरु हुन पाएको छैन ।

दुई ब्राण्डको विक्री सुरु हुने

निषेधाज्ञा सकिएसँगै नेपाली बजारमा एक यूरोपियन र अर्को चिनियाँ ब्राण्डका गाडीहरु विक्री सुरु हुँदैछन् । यूरोपियन ब्राण्ड सिट्रोन र चिनियाँ ब्राण्ड ग्रेटवालले नेपालमा आफ्नो डिलर नियुक्त गरिसकेका छन् । यस्तोमा बजारमा यी दुई ब्राण्ड प्रबेश गर्ने पक्का भएको छ ।


Back_to_top