ट्याक्सी किन्ने सोच्दै हुनुहुन्छ ? अब सजिलै दर्ता गर्न पाइने

काठमाडौं । सरकारले ट्याक्सीमा गर्दै आएको सिन्डिकेट अन्त्य हुने भएको छ । नयाँ ट्याक्सी दर्तामा सरकार आफैंले रोक लगाउँदै आएको छ । अब बन्ने नयाँ कानुनमा नयाँ ट्याक्सी दर्ता गर्न चाहेमा जोसुकैले दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको हो । 

ट्याक्सी दर्तामा सरकारले नै सिन्डिकेट गरेको आरोप लाग्दै आएपछि सरकारले नयाँ कानुनमा दर्ता खुल्ला गर्न लागेको हो । अहिले साविक बागमती अञ्चलामा नयाँ ट्याक्सी दर्ता गर्न रोक लगाएको छ । २०५७ सालमा रोकिएको ट्याक्सी दर्ता २०७१ सालमा १८ सय ५० र त्यसपछि भुकम्प प्रभावितलाई १५ सय नयाँ ट्याक्सी दर्ता गर्न दिएको थियो । 

त्यसयता ट्याक्सी दर्ता बन्द रहेको छ । साविकका अन्य अञ्चलामा भने ट्याक्सी दर्ता गर्न पाइन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ ट्याक्सी दर्ताका लागि नयाँ व्यवस्था गर्न लागेको जनाएको छ । मन्त्रालयले अध्ययन कमिटी बनाएर ट्याक्सी दर्ताको मापदण्ड तय गर्न लागेको हो । 

अहिले नेपालमा ८०० सीसी इन्जिन क्षमताका ट्याक्सी दर्ता हुँदै आएका छन् । अब भने सरकार न्यूनतम् १ हजार वा १२ सय सीसी भन्दा कम इन्जिन क्षमताका गाडी ट्याक्सीमा दर्ता गर्न नपाइने व्यवस्था गर्न लागेको हो । 

ट्याक्सीको नयाँ मापदण्ड सहित ट्याक्सी सबैका लागि सँधैका लागि खुल्ला हुने व्यवस्था गर्ने विषयमा छलफल भइरहेको यातायात व्यवस्था विभागका महादिर्नेशक कुमारप्रसाद दाहालले बताए । 

‘हामी संघीय यातायात व्यवस्था ऐन बनाउने अन्तिम तयारीमा छौं,’ दाहालले भने, ‘अब नयाँ ट्याक्सी दर्ता पूर्ण रुपमा खुल्ला र ट्याक्सीको मापदण्ड समेत तय हुनेछ ।’ सार्वजनिक यातायातको सुधारका लागि विभागले नयाँ कानुन बनाउने र भएको कानुन कार्यान्वयनमा जोड दिने उनले बताए ।


Back_to_top