तीन दिनपछि सार्वजनिक हुँदै ‘नेक्सन इभी म्याक्स’, यस्ता छन् थपिने फिचर

काठमाडौं । टाटा मोटर्सले मे ११ तारिखमा सार्वजनिक गर्न लागेको लङ रेन्ज नेक्सन इभीको नामको पछाडि म्याक्स जोडेर ल्याउने भएको छ । कम्पनीले ‘नेक्सन इभी म्याक्स’ नाम दिएर ल्याउन लागेको नयाँ मोडलमा थुप्रै नयाँ फिचर रहने अनुमान गरिएको छ ।

टाटाले यसको इन्टेरियरमा थुप्रै परिवर्तन गरेको छ भने ब्याट्री साइज वृद्धि र सुरक्षा फिचरमा थप गरेको कारण नामको पछाडि म्याक्स जोडिएको अनुमान गर्न सकिन्छ । कम्पनीले यसको मोटर साइज पनि बढाएको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।

अहिले विक्री भइरहेको नेक्सन इभीमा ९५ किलोवाट क्षमताको मोटर रहेको छ भने म्याक्स मोडलमा १०० किलोवाट क्षमताको मोटर रहने छ । साथै, कम्पनीले स्टायडर्ड चार्जरको रुपमा ६.६ किलोवाट क्षमताको चार्जर यसमा दिने छ । यसअघि ३.३ किलोवाटको चार्जर स्टायडर्ड रुपमा आउँथ्यो ।

कम्पनीले आधिकारीक घोषणा नगरेपनि यसमा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, चार वटै चक्कामा डिस्क ब्रेक, भ्यान्टीलेटेड सिट, क्रुज कन्ट्रोल, एयर प्यूरिफायर, आवश्यकता अनुसार छान्न मिल्ने रिजेनेरेशन मोड दिइएको अनुमान गरिएको छ ।

टाटाले नेक्सन म्याक्समा ४० किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिएको र उक्त ब्याट्रीलाई सिंगल चार्ज गर्दा ४०० किमि रेन्ज आउने अनुमान गरिएको छ । नयाँ नेक्सन म्याक्सको पूर्ण विवरण थाहापाउन भने तीन दिन कुर्नु पर्ने हुन्छ ।


Back_to_top