एजेन्सी । चिनियाँ ब्राण्ड होर्विनले फुल चार्जमा ३०० किलोमिटर गुडाउन मिल्ने म्याक्सी डिजाइनको इलेक्ट्रीक स्कुटर चीनमा सार्वजनिक गरेको छ । होर्विनले यसअघि यूरोपमा मात्रै विक्री गर्दै आएको यो स्कुटर चीनमा पनि सार्वजनिक भएको हो ।
यूरोपमा यसअघि विक्री गर्दै आएको म्याक्सी स्कुटर ‘एसके-३’लाई डबल ब्याट्री प्याकमा उपलब्ध गराएको थियो । एउटा ब्याट्रीले ८० किलोमिटर रेन्ज दिने र दुई ब्याट्रीको प्रयोगमा १६० किलोमिटर रेन्ज दिने थियो ।
तर, कम्पनीले अपडेट गरेर चिनियाँ बजारमा सार्वजनिक गरेको नयाँ एसके-३ मा पनि दुई ब्याट्री अप्सन दिइएको छ । तर, यसको रेन्ज बढेर ३०० किलोमिटर पुगेको कम्पनीको दावी छ । यसमा २.६ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री पाउन सकिन्छ । नयाँ स्कुटर एसके-३को टप स्पीड क्षमता ९० किलोमिटर रहेको छ ।
यो स्कुटरको फ्रन्ट एप्रोनमा ट्वीन एलइडी हेडल्याम्प सेटअप रहेको छ । यसमा सिंगल पिस सिट, सिंगल पिस ग्रयाव रेल, एडजष्ट गर्न मिल्ने विन्ड स्क्रिन दिइएको छ । दैनिक प्रयोग र लामो यात्राको लागिसमेत उत्कृष्ट हुनेगरी यसको डिजाइन तयार भएको छ ।
एसके-३ मा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ, यसमा स्मार्ट कनेक्ट फिचर पनि उपलब्ध छ । स्मार्ट कि लक सिस्टम, क्रुजर कन्ट्रोल जस्ता फिचरको साथमा १४ इन्चको अलोय ह्वील, डिस्क ब्रेक र कोम्वी ब्रेकिङ सिस्टम यसको बलियो पक्ष हो ।


