ईभी यूगको सुरुवात कि पेट्रोलको अन्त्य, बाटो देखाउने टाटा नेक्सन

काठमाडौं । ईभी फाइदाजनक कि पेट्रोल कार कै निरन्तरता भन्ने अहिले चर्चा विश्वभर चल्दै आएको छ । विश्वका कार निर्माताले ईभी उत्पादनमा ध्यान केन्द्रित गर्दा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयु समाप्त हुन लागेको सन्देश विश्वभर फैलिएको छ ।

नेपालमा पनि सन् २०१८ पछि ईभीको प्रयोग व्यापक बन्दै गएको छ । चालु आर्थिक वर्षमा ४ हजार यूनिटभन्दा धेरै विद्युतीय कार आयात भएसँगै नेपालमा ईभीको हिस्सा तीव्र गतिमा विस्तार भएको मान्न सकिन्छ ।

चालु आर्थिक वर्षकाे ११ महिनामा ४ हजार ईभी आयात हुँदा २ हजार ४०० मात्रै पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको देखिन्छ । यही रफ्तारमा ईभीको विस्तार हुने हो भने सन् २०२५ पछि पेट्रोलियम पदार्थबाट चल्ने कारको नयाँ बिक्री १५ देखि २० प्रतिशतमा खुम्चने पक्का जस्तै छ ।

यति छिट्टै ईभीमा मानिसहरू किन गइरहेका छन् ? भन्ने प्रश्नमा मानिस अनुसारको फरकफरक उत्तर पाउन सकिन्छ । कसैले नेपालको आफ्नै इन्धनबाट चल्ने गाडीको प्रयोग बढाउनु देशको अर्थतन्त्र बलियो हुने तर्क गर्छन् भने, कतिले वातावरणको विषयमा कुरा उठाउँछन् ।

अटो पत्रकार संघका अध्यक्ष उज्वलजंग शाह भन्छन्, ‘नेपाल जस्तो अरूबाट किनेर ल्याउने पेट्रोलमा भर पर्नुपर्ने देशमा कम्तीमा १ लाख गाडी विद्युतीय हुनुपर्छ । विगत ३० वर्षमा दुई नाकाबन्दी हामीले भोगेका छौं । नाकाबन्दीको समयमा सबैभन्दा समस्या पेट्रोलियम पदार्थमै भएको थियो । अहिले नेपाललाई विद्युतीय साधनमा लाने मौका हो । यसमा सबै मिलेर राष्ट्र हितमा काम गरौं ।’

नेपालले विद्युतीय साधनको प्रयोग बढाउनुपर्ने अवस्थालाई विद्युत् उपभोगसँग जोडर हेर्छन्, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनले रातिको समयमा खेर जाने विद्युतको प्रयोग गर्दै ईभी चलाउन सकेको खण्डमा अर्थतन्त्रमा ठूलै फाइदा पुग्ने बताउने गरेका छन् ।

नेपाली बजारमा उपलब्ध नेक्सन र नेक्सन ईभीको बीचमा गरिने तुलनात्मक विश्लेषण यथार्थपरक हुने भएकाले यी दुई मोडललाई यहाँ तुलना गरिएको हो ।

उनी भन्छन्, ‘राति प्राधिकरणले बिजुली पनि सस्तो दिन्छ । सहजै घरमा चार्ज पनि गर्न सकिन्छ । त्यसैले आफ्नो विद्युत्को प्रयोगबाट पेट्रोलियम पदार्थ विस्थापन गर्न सजिलो हुन्छ ।’

विद्युतीय साधन आजको आवश्यकता भएको विषय सरकार, व्यापारी, आमनागरिक र सरोकारवालाले बताउँदै आएको भए पनि तत्काल ईभी किन्नु र पेट्रोलबाट चल्ने कर किन्नुमा कुन बढी फाइदा भन्ने विषय उपभोक्ताले हेर्नु पर्ने हुन्छ । त्यसैले हामीले टाटा नेक्सन पेट्रोल र ईभी मध्ये कुन बढी फाइदा दिने प्रोडक्ट हो भनेर यहाँ बुझाउने कोशिस गरेका छौं ।

तुलना गर्दा दुई नेक्सन नै किन ?

हामी अन्य कुनै पेट्रोलियम कार र ईभीको बीच तुलना गर्दा कतै चुक्न सक्छौं । गाडीको साइज, मोटर पावर, ब्याट्री, इन्जिन साइज, माइलेज जस्ता विषय ठ्याक्कै मिल्न कठिन हुन्छ । तर, नेपाली बजारमा उपलब्ध नेक्सन र नेक्सन ईभीको बीचमा गरिने तुलनात्मक विश्लेषण यथार्थपरक हुने भएकाले यी दुई मोडललाई यहाँ तुलना गरिएको हो ।

मूल्य

विभिन्न भेरियन्टमा उपलब्ध नेक्सनको पेट्रोल र ईभीको टप भेरियन्टलाई लिएर हामीले तुलना गरेका छौं । पेट्रोलबाट चल्ने सबैभन्दा महँगो भेरियन्ट एक्सजेडए प्लसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अब कुरा गरौं, यसअघि लगाइएको १० प्रतिशत भन्सारको आधारमा निर्धारण भएको नेक्सन म्याक्सको मूल्य । नेक्सन म्याक्स एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ छ । तर, सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत करका दर बढाएर भन्सार १५ प्रतिशत र १० प्रतिशत अन्तःशुल्क अतिरिक्त लगाएको कारण यसको मूल्य बढ्ने देखिन्छ ।

मूल्यकै हिसाब गरेर तपाईं गाडी किन्दै हुनुहुन्छ भने नेक्सन ईभी सस्तो छ ।

सरकारी कर

नेक्सन ईभी म्याक्समा १०० किलोवाट क्षमता भएको मोटर जडान छ । यस आधारमा भन्सार १५ प्रतिशत, अन्तःशुल्क १० प्रतिशत, भ्याट १३ प्रतिशत र सडक निर्माण दस्तुर मूल्यको ५ प्रतिशत लाग्छ ।

पेट्रोल कारको तुलनामा कम मूल्य, चलाउन सहज, संचालन खर्च कम, वातावरणमैत्री जस्ता कारण ईभी किन्नु फाइदाजनक छ ।

नेक्सन पेट्रोलमा सरकारले ८० प्रतिशत भन्सार, ६५ प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट, मूल्यको ८ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदै आएको छ । यही करको कारण पेट्रोल कार ईभीभन्दा महँगो भएको हो ।

साथै, सवारीसाधन राखे बापत वार्षिक रूपमा तिर्नुपर्ने कर पनि ईभीको तुलनामा पेट्रोल कारमा धेरै छ । पेट्रोल नेक्सनको वार्षिक कर २५ हजार रुपैयाँ छ भने ईभीको वार्षिक कर १० हजार रुपैयाँ मात्रै छ । ईभीलाई प्रदूषण चेक गर्ने खर्च लाग्ने छैन । पेट्रोल कारले समयमा प्रदूषण परीक्षण गर्न बिर्सेको खण्डमा ठूलो जरिवाना तिर्नुपर्ने हुन्छ ।

संचालन खर्च

नेक्सन ईभी म्याक्समा ४० किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसलाई एकपटक फुल चार्ज गर्न ४० यूनिट विद्युत् खपत हुन्छ । यसको मतलब अहिले नेपाल विद्युत प्राधिकरणको चार्जिङ नेटवर्कमा रहेको प्रति यूनिट १० रुपैयाँका दरले हिसाब गर्ने हो भने फुल चार्जगर्दा ४०० रुपैयाँ खर्च हुन्छ ।

नेक्सन म्याक्स ईभीले कम्तीमा सिंगल चार्जबाट २७० किलोमिटर गुड्ने हुँदा प्रतिकिलोमिटर १ रुपैयाँ ४८ पैसा इन्धन खर्च आउँछ ।

अब पेट्रोल नेक्सनको प्रति किलोमिटर इन्धन खर्च हेरौं । अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ छ । टाटा नेक्सनले प्रतिलिटर १२ किलोमिटर हाराहारी माइलेज दिन्छ । यसरी हेर्दा प्रतिकिलोमिटर खर्च १४ रुपैयाँ ५८ पैसा हाराहारी पर्न आउँछ ।

यसका अलावा पेट्रोल नेक्सनमा नियमित सर्भिसिङ लगायतका खर्च ईभीको तुलनामा धेरै हुन्छ । पेट्रोल कारमा मोबिल, एयरफिल्टर, आयल फिल्टर, क्लच प्लेट जस्ता पार्टस्मा धेरै खर्च आउने गरेको छ । तर, ईभीमा वर्षमा एक पटक सर्भिसिङ गर्नुपर्ने र खर्च पनि अत्यन्त कम आउँछ ।

अन्त्यमा, पेट्रोल कारको तुलनामा कम मूल्य, चलाउन सहज, संचालन खर्च कम, वातावरणमैत्री जस्ता कारण ईभी किन्नु फाइदाजनक छ । यसले दीर्घकालमा गाडी धनीसँगै देशका लागि पनि फाइदाजनक रहेको छ ।


Back_to_top