काठमाडौं । नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) ले डिलरसिप खोसिएपछि बजारमा पार्टस् नै उपलब्ध गराउन सकेको छैन । नेपालमै धेरै बिक्री हुने मध्येको एक ब्राण्ड हिरोका लाखौंको संख्यामा मोटरसाइकल सडकमा गुडिरहेका छन् ।
यसरी लाखौं ग्राहकलाई पार्टस् विहिन बनाएको एनजीएमले अहिले ५ वर्षको वारेन्टी दिएर मोटरसाइकल बिक्री गर्दै आएको छ । भारतकै सबैभन्दा ठूलो मोटरसाइक निर्माता कम्पनी हिरो मोटोकर्प र नेपाल जनरल मार्केटिङको डिलरशिप विवाद जारी नै छ । दुई कम्पनीबीचको ब्यवसायीक विवादको चपेटामा नेपाली ग्राहक परेका हुन् ।
एनजीएमले हिरोको डिलरशिप नविकरण गर्न नसकेको कारण लगभग दुई वर्षदेखि नयाँ मोटरसाइकल नेपाल ल्याउने सकेको छैन । पुरानो स्टकमा रहेका मोटरसाइकल ५ वर्षको वारेन्टी दिएर बिक्री गर्दै आएको छ ।
आफुसँग भएको पुराना मोटरसाइकल बिक्री गर्न एनजीएमले जुन तदारुकता देखाएको छ, त्यो आफ्ना ग्राहकहरुको सर्भिसमा देखाएको छैन ।
कम्पनीले मोटरसाइकलको समान्यभन्दा सामान्य पार्टस् समेत ल्याउन नसकेको अवस्था छ । एनजीएमले नयाँ मोटरसाइकल ल्याउन नसक्ने भएसँगै पुरानो मोटरसाइकलमा भारी छुट दिएर आफ्ना डिलरलाई बेचेको हो । अहिले एनजीएमसँग स्टक सकिए पनि डिलर नेटवर्कमा अझैपनि बाइक तथा स्कुटर उपलब्ध छन् ।
कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरुमा स्पेयर पार्टस, इन्जिन आयल लगायतका सामान पाउँनै मुस्किल भएको छ । विभिन्न सर्भिस सेन्टरको काम अहिले सर्भिस गर्ने र मोटरसाइकल धुने मात्रै छ ।
‘एनजीएमले पार्टस उपलब्ध गराउन सकेको छैन, अहिले बाइक सर्भिस गर्दा कुनै पार्टस फेर्न पर्यो भने पार्टस छैन । बाइक धुने काम मात्र भइरहेको छ’, सर्भिस सेन्टरमा काम गर्ने एक ‘मिस्त्री’ मेकानिकले भने ।
एनजीएमले हिरो मोटोकर्पसँग सम्झौता नविकरण गर्न नसकेको कारण पुराना ग्राहकको जिम्मेवारीबाट पछि हट्ने प्रयत्न गरिरहेको छ । कम्पनीले हिरो मोटोकर्पलाई दोषी देखाएर ग्राहकको मोटरसाइकल कवाडी बनाउने काम एनजीएमले गरिरहेको मोटरसाइकल धनीहरु गुनासो गर्छन् ।
हिरोको बालाजुमा रहेको आधिकारिक सर्भिस सेन्टरमा मोटरसाइकल मर्मत गर्न आएको एक ग्राहकले आफुले साइड इन्डिकेटर फेर्न दर्जनौ पटक सर्भिस सेन्टर धाउँदा समेत नपाएको बताए ।
‘मोटरसाइकल विक्री गर्दा ५ वर्ष वारेन्टी भनेर बेच्ने कम्पनीले सानो पार्टस् त उपलब्ध गराउन सक्दैन भने यस्तो कम्पनीले के वारेन्टी’ दिन्छ उनले भने ।
यता एनजीएम भने ग्राहकको यस्तो गुनासो सुन्नै चाहँदैन । एनजीएमले हिरो इन्डियालाई दोष देखाएर आफु पन्छिदै आएको हो ।
एनजीएमले हिरो मोटोकर्पलाई लगातार मुद्धा हाल्दै आएको छ । अहिले अरु कुनैपनि कम्पनीले हिरोका मोटरसाइकल नेपाल भित्र्याएर बिक्री गर्ने अवस्था छैन । एनजीएमले जुनसुकै बेला मुद्दा हालेर लफडा गर्ने डर रहेको मोटरसाइकल क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।
एनजीएमले भने हिरोका ग्राहकको विचल्ली बनाएर भारतमा नै उत्पादन भएको इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने तयारी थालेको छ ।

