काठमाडौं । नेपाल सरकारले सकेसम्म कम बातावरणीय क्षतिमा निजगढ विमानस्थल बनाउने जनाएको छ ।
शनिबार नेपाल नागरिक उड्डेन प्राधिकरणको सभाकक्षमा भएको पत्रकारसँगको साक्षातकार कार्यक्रममा बोल्दै संस्कृती पर्यटन तथा नागरिक उड्डेन मन्त्री रबिन्द्र अधिकारीले उक्त कुराको जानकारी दिएका हुन् ।
यो एयरपोर्ट निर्माणगर्दा स्थानीय सिंचाइ, जैविक वातावरण, जङ्गली जनावरलाई सकेसम्म कम हानी नोक्सानी हुने गरेर कार्य गरिने उनले जानकारी दिए ।
‘जङ्गली हात्तीको हिड्ने रुटलाई समेत दुष्टीमा राखेर निर्माण कार्य अघि बढाइने छ, अहिले मिडियामा आएको जस्तो ८ हजार हेक्टर क्षेत्रफलको जङ्गल कटानी गरेर विमानस्थल बनाउने होइन’ मन्त्री अधिकारीले भने ।
पहिलो चरणमा मात्र २५९३ दशमलव ९५ हेक्टर क्षेत्रफलमा मात्र विमानस्थल निर्माण गरिने भएकाले पहिलो चरणमा ठूला साईजका १ लाख ९४ हजार र साना साइजका ५ लाख ७५ हजार रुखहरु काट्नु पर्ने अध्यनले देखाएको उनले बताए । रुख काट्ने जिम्मा नेपाली सेनालाई दिने सम्बन्धमा गत चैत्र २५ गते नागरिक उड्यान प्राधिकरण र नेपाली सेनावीच सम्झौंतासमेत भइसकेको छ ।
मन्त्री अधिकारीले रुख कटान पछि एउटा रुखको बदलमा २५ वटा विरुवा रोप्ने सरकारको तयारी रहेको जानकारी दिदै भने ‘विरुवा रोप्ने काम विमानस्थल निर्माण प्रोजेक्टलाई नदिई बन विभाग मार्फत टेन्डर आब्हान गरी छुटै कम्पनीलाई दिने छ ।’
कत्रो हुने छ एयरपोर्ट
३६ सय मिटर लम्बाई तथा ६० मिटर चौडाइ भएको एउटा रनवे र त्यसको सँगै ३६ सय मिटर लम्बाइ तथा ४५ मिटर चौडाइको ट्याक्सी वे निर्माण हुनेछ । जसमा आइकाओको फोरएस क्याटागोरिका विमानहरु टेकअफ तथा ल्याण्डिङ् गर्न सक्ने छन् ।
दुइ हजार स्क्वाएर मिटरको कन्टोल टावर निर्माण गरिने यस एयरपोर्टमा २१ वटा एप्रोन रहने छ । जहाँ एकैपटक १९ वटा प्यासेन्जर जहाज र २ वटा कार्गो जहाज स्ट्याण्ड गर्न सकिनेछ । यस एयरपोर्टको वार्षिक क्षमता १ करोड ५० लाख प्यासेन्जरको सेवा पूर्याउने रहने छ ।
दुई वर्ष अगाडि गरिएको यसको लागतको अध्ययन अनुशार करिब १ अर्ब २१ करोड डलर लागनी हुने अनुमान गरिएको छ । तर, कति खर्च लाग्छ भन्ने विषयको टुङ्गो भने डिपीआर तयार भएपछि मात्र एकिन हुने छ ।
डिपीआर निर्माण गर्ने कम्पनीको अन्तीम छनौट कार्य भइरहेको छ । डिपीआरको लागत नै ७० करोड लाग्ने यो प्रोजेक्टको निर्माण ७ वर्षमा सम्मन्न गर्ने लक्ष्य लिईएको छ । जसमा २ वर्ष ग्राउण्ड क्लियरेन्सको लागि र ५ वर्ष निर्माणको लागि छुट्याईएको हो ।
वरिपरि जङ्गल हुने भएकोल यस एयरपोर्टलाई ग्रिन एयरपोर्टको रुपमा प्रमोट गरिने मन्त्री अधिकारीले बताए ।

