आयो चीनकै सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी

काठमाडौं । चीनमा उत्पादन भएका मध्ये सबैभन्दा ठूलो साइजको एसयूभी लन्च भएको छ । चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता नियोले उत्पादन गरेको ‘ईएस-एट’ सार्वजनिक भएको हो ।

चिनियाँ निर्माताले ६ सिट क्षमतामा ल्याएको ईएस-एट मोडलको लम्बाइ ५२८० एमएम, चौडाइ २०१० एमएम र उचाइ १८०० एमएम छ । निकै ठूलो एसयूभीमा ह्वीलबेस पनि ३१३० एमएम लामो छ । यसको इन्टेरियर पनि निकै ठूलो छ ।

आकर्षक लाइटको प्रयोग भएको एसयूभीको फ्रन्ट फेसिया पनि निकै आकर्षक छ । हेडलाइटभन्दा तल एयर भेन्टहरू दिइएको एसयूभीको ग्रिलको तल्लो भाग निकै आकर्षक लाग्छ । लाइडार सेन्सर भएको एसयूभीमा फोर डी इमेज प्राप्त गर्न सकिन्छ ।

यसको इन्टेरियर पनि निकै फिचर लोडेड र प्रिमियम छ । सिटहरूमा मात्रै १ लाख २० हजार स्टिचेजहरू प्रयोग भएको छ । सफ्ट-टप मेटेरियलको प्रयोग भएको कस्मिक अर्विटको डोर प्यानल र त्यसमा दिइएको नयाँ विकास भएको अडियो सिस्टम पाउन सकिन्छ ।

ड्यूल मोटर सेटअपमा उपलब्ध हुने ईएस-एट मोडलमा ५२० किलोवाटको इलेक्ट्रीक मोटर प्रयोग भएको छ । जसको पावर इकाईमा मापन गर्दा ६९७ हर्सपावर हुन्छ ।

कम्पनीले यसमा टर्नरी लिथियम आयोन (एसीएम) ब्याट्री प्रयोग गरेको छ । उक्त ब्याट्री सीएटीएलले उत्पादन गरेको हो । नियोले यसलाई ९०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । त्यसैले यसको चार्जिङ क्षमता निकै तीव्र हुनेछ । अल्ट्रा फास्ट चार्जिङ सपोर्ट गर्ने एसयूभीलाई ५ मिनेट चार्ज गर्दा २५० किलोमिटर यात्रा गर्न पुग्ने ब्याट्री थप गर्न सकिने कम्पनीको दाबी छ । यसले ६०० किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्नेछ ।

नियोको ब्याट्री स्वाप टेक्नोलोजी भएको कारण उपभोक्ताले ३ मिनेटमा गाडीमा सकिएको ब्याट्री फेरेर फुलचार्ज भएको ब्याट्री लगाउन सक्नेछन् ।


Back_to_top