काठमाडौं । जापानका दुई ठूला कार निर्माता निसान र होन्डाले इलेक्ट्रीक कार उत्पादनको लागि सहकार्य गर्ने भएका छन् । यी दुबै ब्राण्डले ईभी उत्पादनमा सहकार्य गर्ने सम्झौता गरेका हुन् ।
यी दुई कम्पनी बीच हुने सहकार्यबाट विद्युतीय कारको लागि आवश्यक पर्ने मुख्य कम्पोनेन्ट विकास र उत्पादन गर्ने जनाइएको छ । साथै, अटोमोटीभ सफ्टवेर उत्पादन, ईभी प्लेटफर्मको विकास र आर्टिफिसीयल इन्टेलीजेन्स (एआई) टेक्नोलोजी विकासमा मिलेर काम गर्ने भएका हुन् ।
दुई कम्पनीको संयुक्त प्रयासबाट जापनीज कम्पनीलाई ‘इकोनोमी अफ स्केल’ बढाउँदै उत्पादन लागत कम गर्न सहयोग पुग्ने बताइन्छ । चिनियाँ कम्पनीहरुले उत्पादन गर्ने इलेक्ट्रीक भेहिकलसँग प्रतिस्पर्धा गर्न दुबै कम्पनीलाई सजिलो हुने छ ।
निसानले लिफ विद्युतीय कारको उत्पादन गरी इलेक्ट्रीक कारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेपनि पछिल्लो समय उदायका नयाँ चिनियाँ ईभी उत्पादकले उसलाई उछिनेका छन् ।
अर्को तर्फ होन्डाले पनि गत वर्ष बिक्री भएको २८ लाख भेहिकल मध्ये ब्याट्री पावर भेहिकलको हिस्सा ०.५ प्रतिशतबाट बढाउनु पर्नेछ । होन्डा ईभी उत्पादमा एकदमै सुुस्त गतिमा चलिरहेको छ ।
कम्पनीले सन् २०४० सम्ममा पूर्णतया इलेक्ट्रीक कम्पनी बनाउने लक्ष्य लिएको छ । निसान होन्डाको नयाँ एलायन्सले उत्पादन लागत घटाउँदै होन्डाको योजना पुरा गर्न सहयोग पुग्ने अनुमान गरिएको छ ।
निसानको अर्को जापनीज कम्पनी मित्सुवीसी र फ्रेन्च कम्पनी रेनोसँग पहिला देखिकै एलायन्स रहेको छ । निसानले युरोपियन बजारमा रेनोसँग ईभी विकासमा मिलेर काम गर्दै आएको छ ।
निसानले बजारमा ल्याउने तयारी गरेको इलेक्ट्रीक माइक्रा रेनो फाइभको आर्किटेक्चरमा रेनोकै उत्तरी फ्रान्समा रहेको प्लान्टमा उत्पादन हुने भएको छ ।
निसान र रेनोले गतवर्षनै लामो समयको सहकार्य कम गर्दै जाने घोषणा गरेका छन् । त्यसैले फ्रेन्च निर्माताले चिनियाँ ब्राण्ड जिलीसँग नयाँ सहकार्य थालेको छ ।

