इलेक्ट्रीक कारमा निसानको ठूलो घोषणा, ७ वर्षमा २७ मोडल ल्याउने

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी निसानले इलेक्ट्रीक कार उत्पादनलाई तिब्रता दिने निर्णय गरेको छ । कम्पनीले अमेरिकाको लस भेगासमा डिलर कन्फ्रेन्स आयोजना गरी सन् २०३० सम्म २७ इलेक्ट्रीक मोडल ल्याउने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको २७ नयाँ मोडल मध्ये १९ वटा पूर्ण इलेक्ट्रीक मोडल हुनेछ । बाँकी ८ मोडल पनि न्यू इनर्जी भेहिकल हुने अटोमोटीभ्स न्यूजले दावी गरेको छ ।

निसानले विश्वभर ३ हजार डिलर नेटवर्क मार्फत बिक्री गर्नेगरी नयाँ मोडल ल्याउन लागेको हो । कम्पनीले आगामी ७ वर्ष भित्र सेडान, ह्याचव्याक, क्रसओभर, कुप्पे र एसयूभी मोडल बजारमा ल्याउने जनाएको छ । अहिले कम्पनीसँग इलेक्ट्रीक कारमा लिफ सेडान र आरिया क्रसओभर एसयूभी मोडल मात्रै उपलब्ध छ ।

कम्पनीले चाँडै निसान लिफको नयाँ जेनेरेशन मोडल ल्याउने तयारी गरिहेको छ । जसको रेन्ज पनि अहिलेको लिफभन्दा बढेर आउने छ । अहिले लिफमा रहेको ६० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । त्यसैगरी नयाँ आउने लिफको रेन्ज ४२५ किलोमिटर हुने दावी गरिएको छ ।

निसानले सीएमएफ-ईभी प्लेटफर्ममा बनाउने नयाँ ईभीहरु कम्पनीले सन् २०२१ मा देखाएको चील-आउट कन्सेप्टमा आधारित रहने छन् । साथै, निसानले सोलिड स्टेट ब्याट्री डेभलपमेन्टमा पनि काम गरिरहेको कारण आगामी उत्पादनहरु निकै आकर्षक र किफायती हुने अनुमान गरिएको छ ।

निसानले अमेरिकी बजारको लागि ई-पावर सिरिज उत्पादन गर्ने छ । ई-पावर सिरिज हाइब्रिड टेक्नोलोजीमा हुनेछ ।


Back_to_top