काठमाडौं । निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले आफ्नो सफल सब फोर मिटर एसयूभी म्याग्नाइटको अटोमेटीक भेरियन्ट नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी भदौ २६ गतेबाट हुने ‘नाडा अटो शो २०२३’मा यसलाई सार्वजनिक गर्ने भएको हो ।
निसानले भारतमा उत्पादन गरेको म्याग्नाइट सन् २०२१ मा नेपाल ल्याएको थियो । नेपाल आएको एक वर्षमा नै झण्डै १५ सय यूनिट बिक्री भएको म्याग्नाइट एक सफल एसयूभी हो । सुरुमा ३० लाखभन्दा कम मूल्यमा सार्वजनिक भएको म्याग्नाइट एक्सई भेरियन्टको मूल्य अहिले ३३ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
यसअघि निसान म्याग्नाइट नेपालमा म्यानुअल गियरबक्समा मात्रै उपलब्ध हुँदै आएको थियो । पायोनियर मोटोकर्पले म्याग्नाइटलाई १.० लिटर नेचुरल्ली एस्पीरेटेडड इन्जिन र १.० लिटर टर्बो इन्जिन अप्सनमा उपलब्ध गराएको छ । अबभने यसको अटोमेटीक गियरबक्स भेरियन्ट नेपाल आउने भएको हो ।
यस्तो छ अटोमेटीक गियरबक्स
अटोमेटीक गियरबक्स भएका गाडीको बिक्री बढिरहेको छ । त्यसमा पनि विद्युतीय कारको बिक्री बढेसँगै सिंगल गियर भएका गाडीको माग उच्च बन्दै गएको हो । बढ्दो अटोमेटीक कारको माग सम्बोधन गर्न पायोनियर मोटोकर्पले म्याग्नाइटको अटोमेटीक भर्सन नेपाल ल्याउन लागेको बुझ्न सकिन्छ ।

निसानले आफ्नो इन्ट्री लेभल एसयूभीमा सीभीटी (कन्टिन्यूएस्ली भेरियबल ट्रान्समिशन) दिएको छ । यो गियरबक्स सहरी क्षेत्रमा गाडी चलाउन निकै सहज मानिन्छ ।
म्याग्नाइट सीभीटी गियरबक्स १.० लिटर टर्बो इन्जिनको साथ आउने छ । टर्बो इन्जिन भएको कारण यसको अधिकतम पावर १०० पीएस रहेको छ । यसलाई राम्रो पावर मान्न सकिन्छ ।

कति पर्ला मूल्य ?
म्याग्नाइट सीभीटीको मूल्य अहिलेसम्म कम्पनीले बाहिर ल्याएको छैन । सम्भवत यसको मूल्य नाडा अटो शोमा नै सार्वजनिक हुनेछ । अहिले म्याग्नाइट टर्बो इन्जिन भएको टप भेरियन्ट ‘एक्सभी प्रिमियम ड्यूल टोन’को मूल्य ४८ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
यहि भेरियन्टमा अटोमेटीक आउने हो भने त्यसको मूल्य ५१ लाख हाराहारी पर्ने हामीले अनुमान गरेका छौं ।


