काठमाडौं । कोभिड १९ को संक्रमण उच्च दरमा बढेसँगै स्थानीय प्रशासनले देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी गरेको ४५ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन नराम्रोसँग प्रभावित भएको अहिलेको अवस्थालाई केही सहज बनाउनु पर्ने चौतर्फी दवाव बढ्दै गएको छ ।
यसैबीच उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयूक्त बैठक आज बस्दैछ । उनिहरुले अहिलेको निषेधाज्ञामा केही परिमार्जन गर्ने तयारी गरेको जानकारी दिएका छन् ।
काठमाडौं उपत्यका भित्रको नगरपालीकाका मेयरहरुको फोरमले पनि उपत्यका प्रवेशमा कडाई गर्दै भित्रको जनजीवन विस्तारै सामन्यतर्फ फर्काउनु पर्ने सुझाव दिएका छन् । यद्यपी जिल्ला कोभिड संकट व्यवस्थापन समितिले भने थप एक हप्ता वा १५ दिन निषेधाज्ञा कायम राख्नु पर्ने सुझाव दिएको छ ।
स्थानीय प्राशसनले भने अहिलेको अवस्थाको तुलनामा केही परिमार्जन गर्दै थप एक साता निषेधाज्ञा जारी राख्नसक्ने जनाएको छ ।
‘निषेधाज्ञालाई खुकुलो बनाएर जनजीवन सामान्यतर्फ फर्काउने भन्ने छ । केही व्यवसायहरु संचालन गर्न दिने र खुल्ने व्यवसायको समय थप गर्ने भन्ने छ । तर, संयुक्त बैठकबाटै यसको निर्णय हुन्छ’, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने ।
उनले कुन व्यवसाय कति समय खुल्लने विषयमा प्रस्ट नभने पनि उपत्यकामा निजी सवारी साधन जोर विजोर चल्न दिने निर्ण हुन सक्ने अनुमान भने गर्न सकिन्छ । यसअघि पनि लकडाउन खुकुलो भएको केही दिन जोर विजोर गरेर निजी सवारी साधन चल्न दिइएको थियो ।
अहिले जारी निषेधाज्ञा सोमबार राती १२ बजेसम्मको लागि यसअघि नै लगाइएकाले मंगलबारदेखि नयाँ मोडालीटीमा निषेधाज्ञा जारी हुने छ ।


