काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले ओलाका स्कुटर अंग्रेजी नयाँ वर्षसँगै विक्री सुरु गर्ने भएको छ । कम्पनीले नेपालमा नै पहिलो पटक भएको नाडा ईभी एक्स्पो २०२२ मा देखाएको दुई मोडल सुरुमा विक्री गर्ने तयारी गरेको हो ।
भारतको चर्चित राइड एण्ड सेयरिङ कम्पनी ओलाले उत्पादन गरेको एस वान र एस वान प्रो मोडलबाट सिजी मोटर्सले वक्री सुरु गर्न लागेको हो । कम्पनीका अनुसार अहिले देशका विभिन्न क्षेत्रमा नयाँ शोरुम निर्माणको काम अन्तिममा पुगेको छ । एकै पटक ती शोरुम संचालनसँगै विक्री सुरु हुनेछ ।
सिजी मोटर्सले नेपाल ल्याउने ओला एस १ र एस १ प्रोमा धेरै समानता भएपनि मूल्य र रेन्जमा भने भिन्नता रहने छ । ओला एस १ को रेन्ज १२० र एस १ प्रोको १६५ किलोमिटर रहेको दावी भारतमा गरिएको छ । नेपालमा यसको मूल्य कति पर्छ भन्ने अहिलेसम्म बताइएको छैन ।
भारतमा उत्पादन कम र माग ज्यादा भएका कारण ओला ब्राण्ड नेपाल ल्याउन सम्भव भएको थिएन । हाल ओलाले आफ्नो उत्पादन क्षमता वृद्धि गरेसँगै नेपाल पठाउन लागेको कम्पनीको भनाई छ ।
दुबै एस वान र एस वान प्रो स्कुटरमा समान ८.५ किलोवाट क्षमताको मोटर उपलब्ध रहेको छ । यी दुबै स्कुटरको टर्क पनि समान ५८ एनएम छ भने ब्याट्री एस वानमा २.९८ किलोवाट आवर र प्रोमा ३.९७ किलोवाट आवर रहेको छ । एस वान प्रोमा ठूलो ब्याट्री रहेको कारण रेन्ज पनि धेरै दिन्छ ।
दुबै स्कुटरमा अगाडि २२० एमएमको डिस्क र पछाडि १८० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ । १२ इन्चको अलोय ह्वील, ट्यूवलेस टायर, अगाडि सिंगल फर्क र पछाडि मोनोसक सस्पेन्स पाउन सकिन्छ । दुबै स्कुटरमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध हुनेछ । दुई स्कुटरमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ ।

