बालेनले जितेको उपलक्ष्यमा १६ गते दिनभर ट्याक्सी फ्री !

काठमाडौं । काठमाडौं महानगरपालिकोको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले जितेको खुसीयालीमा एक ट्याक्सी चालकले एकदिन फ्रीमा ट्याक्सी सेवा उपलब्ध गराउने भएका छन् ।

बा २ ज ३८२७ नम्बरका ट्याक्सी चालक दीपक भट्टराईले बालेको जितेको उपलक्ष्यमा आगामी सोमबार ९जेठ १६ गते० दिनभर ट्याक्सी सेवा फ्रीमा उपलब्ध गराउने भएका हुन् ।

भट्टराईले बालेनले काठमाडौंको उम्मेदवारी दिएसँगै उनले जितेमा आफूले १ दिन सित्तैमा ट्याक्सी सेवा उपलब्ध गराउने घोषणा गरेका थिए । अहिले बालेनले जितेसँगै उनले आफ्नो बोली पूरा गर्न जेठ १६ गते फ्रीमा ट्याक्सी सेवा दिने भएका हुन् ।

‘बालेन साहले मेयर जितेमा १ दिन ट्याक्सी सेवा फ्री भनेर केहीहप्ता अगाडि घोषणा गरेको थिएँ । र, मेयरमा जितेको औपचारिक घोषणा भएको छ । मेरो ट्याक्सी फ्री सेवा जेठ १६ गते सोमबारका दिन लागू हुनेछ,’ भट्टराईले भनेका छन् ।

विशेषगरी फ्री ट्याक्सी सेवा गरिब, अशक्त, अपाङ्ग, बिरामीहरुका लागि र अत्यावश्यक काममा जानेहरुको लागि मात्र लागू हुने उनले बताएका छन् । सो दिन उनको ट्याक्सी चढेबापत कसैले पनि शुल्क तिर्नुपर्ने छैन ।

‘कृपया ट्याक्सी सेवा फ्री भन्दैमा घुम्न जानको लागि, मैयाँ भेट्नको लागि, दारुपानी खानको लागि, तास खेल्न जानको लागि, दोहोरी÷डिस्को जानको लागि सम्पर्क नगर्नुहोला। यो फ्री सेवा गरिब, अशक्त, अपाङ्ग, बिरामीहरुका लागि र अत्यावश्यक काममा जानेहरुको लागि मात्र लागू हुनेछ,’ भट्टराईले भनेका छन् ।

फ्री सेवा उनको ट्याक्सी सडकको जुन ठाउँमा छ सोही ठाउँबाट सुरु हुने उनले बताएका छन् । अत्यावश्यक काममा जानुपर्ने भए ट्याक्सी दौडिरहेको ठाउँमा रोक्न उनले अनुरोध गरेका छन् ।


Back_to_top