काठमाडौं । अहिले नेपाली बजारमा तीन दर्जन बढी कार ब्राण्ड उपलब्ध छन् । यसले प्रतिस्पर्धा बढाएको छ । व्यवसायी बीच चल्दो प्रतिस्पर्धामा गाडी किन्ने उपभोक्ताले राम्रै फाइदा पाउन सक्ने अवस्था आएको देखिन्छ ।
यहाँ गाडी किन्नेभन्दा गाडी बेच्नेको टाउको दुःखाइ धेरै देखिन थालेको छ । गाडी बिक्रेतालाई बजारमा आफ्नो उत्पादन बेच्ने मात्र होइन, बेचेका उत्पादनको सर्भिसदेखि चार्जिङ पूर्वाधार निर्माणमा पनि प्रतिस्पर्धा गर्नुपरेको छ ।
नेपालमा वार्षिक औषत १५ हजार हाराहारी कार बिक्री हुँदै आएको छ । कुनै वर्ष २१ हजारसम्म पनि पुगेको र कुनै वर्ष ८ हजारमै सीमित भएका छन् । त्यसैले धेरै गाडी बिक्रेतालाई बजारमा टिक्नै मुस्किल अवस्था आएको छ ।
अबको तीन साता भित्र दुई अटो शो आयोजना हुँदै छन् । विभिन्न ब्राण्डले दुई दर्जन बढी नयाँ मोडलका कार बजारमा उतार्दै छन् । यसले बिक्रेतालाई संख्यामत्क बिक्री धेरै बनाउने चुनौती छ । उपभोक्ताले छानेर आफ्नो आवश्यकताको गाडी किन्न सक्ने अवस्था छ ।
गाडी बिक्रेतालाई मौका र चुनौती
जसरी दर्जनौं ब्राण्डले बजारमा आफ्नो गतिविधि बढाएका छन् । यसले उनीहरूलाई बजारमा स्थापित हुन सहयोग गर्छ । चिनियाँ कम्पनीका थुप्रै ब्राण्डहरूले आफ्नो उत्पादन देखाउने र बजार हिस्सा बढाउने मौका यही हुन सक्छ । आउँदै गरेको दशैं, तिहार जस्ता ठूला चाडपर्वहरू नजिकमा छन् ।
औषतमा वार्षिक बिक्रीको झण्डै ५५ प्रतिशत बिक्री यही समयमा हुने अनुमान गर्न सकिन्छ । विगतमा यस्तै ट्रेन्ड थियो । यस पटक पनि लगभग हुने यस्तै हो । त्यसैले बिक्रेताहरूले यसमा आफ्नो शक्ति झोस्दै छन् ।
जति मौका छ, त्योभन्दा बढी चुनौती पनि छन् । विद्युतीय गाडीको बढ्दो बिक्रीसँगै धेरै पुराना चल्तीका ब्राण्ड नै आफ्नो संचालन खर्च कटौती गर्नु पर्ने अवस्थामा पुगेका छन् । नयाँ आएका धेरैजसो विद्युतीय ब्राण्डका बिक्रेताले आर्थिक नोक्सानी व्यहोर्न थालेका छन् ।
धेरै ब्राण्डको लागि यो वर्ष अन्तिम मौका बन्ने अवस्था सृजना भएको छ । उनीहरूको बढ्दो खर्च र बढ्न नसकेको बिक्रीले समस्या थपेको छ । कति ब्राण्डले उपत्यका बाहिर गाडी बिक्री गर्ने डिलर समेत पाउन सकेका छैनन् । चल्तीकै ब्राण्डहरूको पनि डिलरमा समस्या चलिरहेको छ ।
गाडी बिक्रेताको बढ्दो खर्च खासगरी शोरुम, गोदाम, कर्मचारीको खर्च, बैंकको ब्याजले समस्या थप्छ नै । त्यसमाथि बढ्दो प्रतिस्पर्धाको कारण मूल्य घटाएर बिक्री गर्नु पर्ने अवस्था छ ।
गाडी किन्नेलाई फाइदा धेरै, चुनौती कम
अहिले गाडी किन्नेलाई फाइदा धेरै देखिन्छ । बजारमा गाडीको छनोट धेरै छन् । आफ्नो मनपर्ने डिजाइन, साइज र मूल्यको गाडी सहजै छान्न सकिन्छ ।
ब्यवसायी बीचको फुटले अटो शो पनि दुई वटा हुँदैछ । त्यसैले साउन २० गतेदेखि नै दशैंको स्कीमहरू आउने छन् । मूल्यमा पनि राम्रै प्रतिस्पर्धा देख्न पाइन्छ । त्यसको सिधा फाइदा उपभोक्ताले पाउने छन् ।
बैंक तथा वित्तिय संस्थाले पनि ८ प्रतिशत हाराहारी मै परिवर्तन नै नहुने ब्याजदरमा कर्जा सेवा उपलब्ध गराएका छन् । यसले आर्थिक दायित्व थप नपर्ने भएको कारण उपभोक्तालाई फाइदा नै हुने देखिन्छ ।
यति भन्दैमा उपभोक्तालाई चुनौती छैन भन्ने होइन । उनीहरूलाई सही ब्राण्डको छनोट गर्न मुस्किल हुन सक्छ । कुन ब्राण्डले कस्तो सेवा दिन्छ । बिक्रीपछि पार्टस उपलब्ध गराउँछ वा गर्दैन । कतै भोलि तपाईंले किनेको ब्राण्ड नै नरहने पो हो कि जस्ता विषय उपभोक्ताको लागि छुट्टाउन चुनौती हुन सक्छ ।

