ओरा आर १ इलेक्ट्रीक जनवरीमा नेपाल आउने, ओरा क्याट पनि तयार हुँदै

काठमाडौं । ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराको पहिलो इलेक्ट्रीक कार नेपाल आउने भएको छ । ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले जनवरी २०२२ मा यसलाई विक्री सुरु गर्ने योजना बनाएको हो ।

कम्पनीले ग्रेटवाल मोटर्सको ब्राण्ड लञ्चको कार्यक्रममा डिसेम्बर २०२१ को अन्तिमसम्ममा आर १ इलेक्ट्रीक नेपाल ल्याउने घोषणा गरेको थियो । विश्वव्यापी कोभिड १९ को प्रभाव र सेमी कन्डक्टरको समस्याको कारण केही ढिलो हुन गएको हो ।

यो मोडल जनवरीमा नेपाल ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

‘ओरा आर १ नेपाल ल्याउने तयारी भएको छ । जनवरी महिनामा यसलाई बजारमा विक्री सुरु गर्ने तयारी भइरहेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

चिनियाँ ब्राण्डको यो सानो ह्याचव्याक कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ । यद्यपी यसको विस्तृत विवरण भने कम्पनीले बाहिर ल्याएको छैन ।

यस्तो छ नयाँ ओरा क्याट

ग्रेटवाल मोटर्सले २०२१ म्यूनिख मोटर शोमा ओरा क्याट सार्वजनिक गरेको थियो । विशेषत सानो साइजका इलेक्ट्रीक कार चाहनेहरुको लागि लक्षित गरेर ल्याएको यो कारको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम र उचाई १५९६ एमएम रहेको छ ।

यसमा ६३ किलोवाट आवर क्षमताको व्याट्री प्याक दिइएको छ । यसले १२६ किलोवाट पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा रहेको व्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ४०० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

यसको एक्सीलेरसन पनि उत्कृष्ट रहेको छ । गाडीले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड ८.५ सेकेन्डमा भेट्टाउछ भने टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

ड्राइभर एसिस्टेन्स टेक्नोलाजी प्रयोग भएको यो कारमा ३६० डिग्रि क्यामेरा, हाइवे एसिस्ट सिस्टम, साइकल चढ्ने यात्रु डिटेक्सन, अटोनोमस ब्रेकिङ सिस्टम, जंगसन एसिस्ट लगायतका सुरक्षा फिचर यसमा पाउन सकिन्छ ।


Back_to_top