काठमाडौं । रेनोले भारतीय बजारमा क्वीड, टाइबर र काइगरको सफलतापछि नयाँ एसयूभी बजारमा ल्याउने अनुमान चलिरहेको छ । कम्पनीले पुरुषहरुको स्वास्थ्य मुद्दामा जगरुकता ल्याउने उद्देश्यले ब्राण्ड एम्बेस्डरको रुपमा नयाँ एसयूभी अर्कानाको तस्विर सार्वजनिक गरेसँगै यसको उत्पादन भारतमा हुने विषयले चर्चा बटुलेको हो ।
कम्पनीले आफ्नो शोसल मिडिया पेजमा अर्कानाको तस्विर सेयर गर्दै लेखेको छ ‘वी आर रेडी’ । त्यसपछि भारतीय मिडियामा विभिन्न अट्कलवाजी चलिरहेको छ । साथै, कम्पनीले अहिलेसम्मकै धेरै छुट आफ्नो डस्टर एसयूभीमा दिएपछि धेरैले डस्टरको स्थानमा अर्काना आउने अनुमान समेत लगाएका छन् ।
रेनो अर्काना यूरोपीयन बजारमा चर्चित क्रसओभर मोडल हो । हल्का कुपे डिजाइनबाट प्रेरित रहेको यसलाई एसयूभी भन्ने गरिएको छ । रेगुलर इन्जिन र हाइब्रिड मोडलमा यूरोपीयन बजारमा विक्री भइरहेको यो गाडीले यूरो एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

मिड साइज एसयूभी सेग्मेन्टमा आउने अर्कानाको लम्बाई ४५४५ एमएम, चौडाई १८२० एमएम र उचाई १५६५ एमएम रहेको छ भने २७२१ एमएम रहेको छ । २०८ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । जुन डस्टरको भन्दा धेरै हो ।
बोसको अडियो सिस्टम, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ९.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ३६० डिग्री क्यामेरा, एम्बीयन्ट लाइट जस्ता फिचर अर्कानामा रहेको छ । यूरोपमा अहिले हाइब्रिड मोडल र १.३ लिटर टर्बो इन्जिनमा यसको विक्री भइरहेको छ ।

