प्यूजोले ल्यायो दुई इलेक्ट्रीक ह्याचव्याक, नेपाल पनि आउन सक्ने

काठमाडौं । फ्रेन्च कार निर्माता प्यूजोले ई-३०८ र ई-३०८ एसडब्लू मोडल यूरोपियन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले चुपचाप यी दुई मोडललाई बजारमा उतारेको हो ।

प्यूजोले ल्याएको यो मोडल कम्बस्चन इन्जिन युक्त ह्याचव्याक प्यूजो ३०८ जस्तै देखिएको छ । कम्पनीले यसलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुडाउन सक्नेगरी बजारमा ल्याएको दावी गरेको छ ।

प्यूजोले यसलाई ४०० भोल्ट सिस्टममा तयार गरेको कारण १०० किलोवाट क्षमताको चार्जर प्रयोग गरेर २० देखि ६० प्रतिशत चार्ज गर्न केवल २५ मिनेट मात्रै लाग्नेगरी तयार गरेको छ । यी दुबै मोडलमा ५४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ ।

कम्पनीले यसमा स्टायडर्ड चार्जरको रुपमा ११ किलोवाट क्षमताको चार्जर दिएको छ । यसले गाडीलाई फुल चार्ज गर्न ५ घन्टा लगाउने कम्पनीको दावी छ । १२.७ किलोवाट आवर ब्याट्री खर्च गर्दा १०० किलोमिटर यात्रा गर्न सकिनेगरी यसलाई तयार गरिएको कम्पनीको भनाई छ ।

नेपालमा सबैभन्दा महत्वपूर्ण मानिने यसको मोटर साइज हो । मोटर साइज अनुसार कर निर्धारण हुने हुँदा अहिलेको कर अनुसार यो गाडी सहजै नेपाल आउन सक्ने छ । यसमा ११५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । यो भनेको १५६ पीएस पावर हो । साथै, यसको टर्क २६० एनएम रहेको छ ।

फ्रेन्च निर्माताको आधिकारीक वितरक साँग्रिला मोटर्सले नेपालमा प्यूजो ब्राण्डका गाडी ल्याएर विक्री वितरण गर्दै आएको छ । नेपालमा प्रिमियम ब्राण्डमा नै गणना हुने प्यूजोको इलेक्ट्रीक ३०८ ह्याचव्याक नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top