पहिलाे ईभी एक्स्पोमा के के आउँदै छ नयाँ ? कारभन्दा मोटरसाइकलमा छनोट धेरै

काठमाडौं । विद्युतीय सवारीसाधनसँग जोडिएर आउने सबै किसिमका बस्तुको वृहत प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म चल्ने ‘सियट नाडा ईभी एक्स्पो २०२२’मा कुन कुन ब्राण्डले नयाँ साधन ल्याउँदै छन् भन्ने विषयमा धेरैको कौतुहलता रहेको पाइन्छ ।

ईभी एक्स्पोमा विभिन्न ७ वटा चार पाङ्ग्रे सवारीसाधन विक्री गर्ने कम्पनीहरु रहेका छन् भने एउटा तीन पाङ्ग्रे साधन विक्रेताले सहभागिता जनाउने भएको छ । मेलामा टाटा, हुन्डाई, टेस्ला, नेटा भी, बीवाइडी, महिन्द्रा र दिगो ब्राण्डले सहभागिता जनाउँदै छन् ।

यी मध्ये कुनै पनि ब्राण्डले नयाँ मोडल ल्याउने अवस्था छैन । यदि नाका खुल्ला भएको खण्डमा बीवाइडीले एटो थ्री मोडल ईभी एक्स्पोमा प्रदर्शनी गर्न सक्ने देखिन्छ । यसका अलावा कुनै पनि ब्राण्डले नयाँ मोडल ल्याउने अवस्था देखिदैन ।

टाटाले नेक्सन र टिगोर ईभी, हुन्डाईले कोना र आयोनीक ५, बीवाइडीले अल न्यू इ सिक्स र एम थ्री, सिजी मोटर्सले नेटा भी, दिगोले जेएसी ईभी पीकअप, टेस्लाले मोडल थ्री, महिन्द्राले तीन पाङ्ग्रे इलेक्ट्रीक टेम्पो र सिजीले चांगनको कमर्सियल भ्यान देखाउने छ ।

तर, इलेक्ट्रीक ब्राण्डहरुले भने केही नयाँ मोडल बजारमा ल्याउने तयारी थालेका छन् । सुपर शोको, प्योर ईभी, जेलजी ईभी बाइक लगायतले स्कुटर र मोटरसायकल दुबै प्रदर्शनी गर्ने छन् । सेग्वेले नयाँ स्कुटर विक्री सुरु गर्नेछ भने जोय, ओला, सिएफ मोटो जियो जस्ता नयाँ ब्राण्ड पनि ईभी एक्स्पो २०२२ बाट नेपाली बजारमा प्रबेश गर्ने छन् ।

विद्युतीय साइकल चाहनेहरुको लागि हिरो इन्डियाले उत्पादन गरेको लेक्ट्रो ब्राण्डका विभिन्न सिरिजका इलेक्ट्रीक साइकल पनि प्रदर्शनीमा पाउन सकिन्छ ।

मेलामा बैंक, बीमा, स्पेयर पार्टस्, ब्याट्री, ग्यारेज इक्यूपमेन्ट, टायर जस्ता अत्यावश्यक बस्तुहरुको पनि प्रदर्शनी हुनेछ ।

ईभी एक्स्पो २०२२ मा ५१ वटा स्टल रहने आयोजक नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ । मेला संयोजक अनुपकुमार बरालका अनुसार ईभी एक्स्पोसँगै साइडलाइनमा विशेष कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम पनि तय भएको छ ।

लगानी योग्य रकमको अभाव, चिनियाँ नाका अझै बन्द रहनु, बैंकको ब्याजदरमा भएको तिब्र वृद्धि लगायतका कारण धेरै मानिसले नयाँ साधन ईभी एक्स्पो २०२२ मा देख्न पाउने छैनन् ।

 


Back_to_top