काठमाडौं । बागमती प्रदेश सरकारले यातायात व्यवस्थासँग सम्बन्धित सबै कामहरू क्यूआर कोडमार्फत गर्ने घोषणा गरेको छ ।
सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा पेश गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
प्रदेश सरकारले यातायात व्यवस्थासँग सम्बन्धित सबै सेवालाई अनलाइन प्रणालीबाट प्रदना गर्ने व्यवस्था मिलाइने बताएको छ । प्रदेश सरकारले चालक अनुमतिपत्र, सवारी दर्ता प्रमाणपत्र, सवारी प्रदूषण परीक्षण प्रमाण पत्रलाई क्यूआर कोडबाट जाँच तथा नियमन गरिने घोषणा गरेको हो ।
‘संघीय सरकारसँगको सहकार्यका सवारी चालक अनुमतिपत्र, सवारी दर्ता प्रमाणपत्र, सवारी प्रदूषण परीक्षण प्रमाण पत्रलाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी क्यूआर कोडसहित परीक्षण/नियमन गर्ने व्यवस्था मिलाउने व्यवस्था गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
त्यस्तै, प्रदेश सरकारले कानुन बनाई राइड सेयरिङलाई प्रभावकारी नियममन तथा राजस्वको दायारामा ल्याउने घोषणा गरेको छ ।
सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो, व्यवस्थित बनाई प्रभावकारी नियमनबाट प्रदेश सरकारले राजस्व वृद्धि गर्ने प्रदेश सरकारको नीति छ ।

