बैशाख १ गतेबाट मारुती सुजुकीका सबै मोडलको मूल्य बढ्ने

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले बैशाख १ गतेबाट आफ्ना सबै कारको मूल्य बढ्ने घोषणा गरेको छ । कम्पनीले सबै मोडलमा मूल्य बढ्ने जनाएपनि कुन मोडलमा कति बढ्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

सिजी मोटोकर्पले नेपालमा मारुती सुजुकीका १५ मोडलका ४५ भेरियन्टमा कार विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने सबैभन्दा कम मूल्यको कार अल्टो ८०० हो भने सबैभन्दा बढी मूल्यको एसक्रस हो ।

अल्टो ८०० लाई अहिले कम्पनीले १९ लाख ९ हजारदेखि मूल्य तोकेर विक्री गर्दै आएको छ । सबैभन्दा महंगो मोडल एसक्रसको अल्फा भेरियन्टको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

मारुती सुजुकीका धेरै मोडल ३० लाखभन्दा कम मूल्यमा विक्री वितरण हुँदै आएका छन् । कम्पनीले विक्री गर्ने अल्टो, एस-प्रेसो, सेलेरियो, वागेनआर, इको जस्ता मोडलको मूल्य ३० लाखभन्दा कम रहेको छ भने इग्नीस, स्वीफ्ट, डिजायर, बलेनो जस्ता मोडलको मूल्य ४० लाखभन्दा कम रहेको छ ।

ब्रेजा, सियाज, एक्सएल६ र एसक्रस भने ४० लाखभन्दा माथिको मूल्यमा विक्री वितरण हुँदै आएको छ ।

सिजी मोटोकर्पले मूल्य बढ्ने मिति नै तोकेर ‘बढ्दैछ मूल्यको भार, आजै किनौं सुजुकी कार’ ट्याग्लाइनमा मूल्य वृद्धि हुने भन्दै अलर्ट जारि गरेको हाे ।


Back_to_top