कोरियन र यूरोपियन कम्प्याक्ट एसयूभीलाई माथ दिने ‘प्रोटोन एक्स-५०’

-फिचरको हिसावले प्रतिस्पर्धी भन्दा अब्बल, अन्य प्रतिस्पर्धीको तुलनामा मूल्य बढी र उचाई कम, इन्टेरियरमा विनर बन्दा एक्सटेरियरमा ठिकठाक ।

काठमाडौं । जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ कम्प्याक्ट एसयूभी एक्स ५० को विक्री सुरु गरेको छ । अटोमेटीक गियरबक्समा मात्रै उपलब्ध एक्स ५० ले यो सेग्मेन्टमा कोरियन ब्राण्ड हुन्डाई र किया, यूरोपियन ब्राण्ड फक्सवागेन र स्कोडा तथा जापानी ब्राण्ड निसानको कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।

मलेसियन ब्राण्ड प्रोटोनले नेपालमा स्थापित र सार्वधिक चल्तीको मोडल क्रेटा, सेल्टोस, किक्स, कुशक र टाइगुनसँग कसरी प्रतिस्पर्धा गर्छ त्यो भने हेर्न बाँकी नै छ । तर, माथि उल्लेखित ब्राण्डले विक्री गर्ने टप भेरियन्ट र एक्स ५० को टप भेरियन्टमा दिइएको फिचरको आधारमा एक्स ५० धेरै अगाडि देखिन्छ ।

त्यसो भए फिचर लोडेड भएकै आधारमा त्यो गाडी सबैको रोजाईमा पर्छ त भन्ने प्रश्न आउँछ । पक्कै पनि पर्दैन । तर, फिचर लोडेड भएपछि ग्राहकलाई एक पटक सोच्न बाध्य भने बनाउँछ ।

अब कुरागरौं गाडीको साइजमा केन्द्रित भएर । प्रोटोन एक्स ५० लम्बाईमा अन्य प्रतिस्पर्धी भन्दा केही एमएम लामो भएपनि उचाई भने कम छ । आक्रमक फ्रन्ट लुक्समा तयार भएको एक्स ५० मा फ्यूचरिष्टीक डिजाइन भन्न मिल्दैन । तर, यसमा दिइएको अटो पार्क लगायतका सुरक्षा फिचरमा कुनै पनि प्रतिस्पर्धी नजिक पनि आउन सक्दैनन् ।

प्रोटोनले एक्स ५० मा सुरक्षाको लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनीक स्टेविलिटी कन्ट्रोल (ईएससी), अटोनोमश इमर्जेन्सी ब्रेकिङ (एईबी), एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्रि क्यामेरा जस्ता फिचर छन् ।

प्रोटोन एक्स ५० को टप स्पेकमा प्रयोग भएको १.५ लिटर टी-जीडीआई इन्जिन अन्य प्रतिस्पर्धीको लागि निकै भारी पर्छ । उक्त इन्जिनले अधिकतम १७७ पीएस पावर र २५५ एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ ।

एक्स ५० लाइटको मामलामा पनि प्रतिस्पर्धीसँग बराबरी गर्न सक्छ । यसमा फुल एलइडी हेडल्याम्प, १८ इन्चको अलोय ह्वील, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बिनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता विशेषता पाउन सकिन्छ ।

जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० लाई तीन भेरियन्ट स्ट्याण्डर्ड, प्रिमियम र फ्ल्यागसिपमा उपलब्ध गराएको छ । स्ट्यान्डर्ड भेरियन्टको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको ७९ लाख ९९ हजार र फ्ल्यागसिप भेरियन्टको ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्यका हिसावले प्रतिस्पर्धी भन्दा एक्स ५० करिब १० लाख रुपैयाँ महंगो छ ।


Back_to_top